तेल तस्करीमा भारतीय सक्रिय

138
  •  
  •  
  •  

काठमाडौं, ३० कात्तिक : सीमावर्ती भारतीय बजार नक्सलबाडीका २८ वर्षे दीपचन्द्र दास ‘वारिपारि कारोबार’ का स्थानीय ‘डन’ हुन् । भारतीय सामान अवैध रूपमा नेपाल भित्र्याउने, नेपाली सामान त्यसै गरी भारत लैजाने उनको धन्दा हो ।

‘बोर्डरमा बसेर यत्ति पनि नगरे के खाने ?’ उनी सजिलै भन्छन्, ‘जता कमाइ उतै धन्दा चलाउने हो ।’

तर, जब उनको देशको सरकारले नेपाली संविधानप्रति असन्तोष जनाउँदै नाकाबन्दी लगायो, उनले पुराना कारोबार थाती राखेर तेलधन्दा सुरु गरेका छन्, जसबाट उनको कमाइ दोब्बरभन्दा बढी छ । उनले एक दर्जनभन्दा धेरै साथी परिचालन गरेर बाइकमा नेपालतिर पेट्रोल ओसारिरहेका छन् । नेपाली बजारमा ल्याएर महँगो मूल्यमा बेच्न पल्किएको उनको समूह यस्तो कारोबार चलाउने एक्लो छैन । नाकाबन्दीपछि नाकाहरूमा यस्ता धेरै समूह–व्यक्ति छन्, जसले तेलको कालोबजारी चलाएका छन् । झापाका नाकामा यस्ता अधिकांश कारोबारी भारतीय छन् ।

सरकारले नेपालमा नाकाबन्दी गरेको मौका छोपेर भारतको सीमावर्ती क्षेत्रका नागरिक पेट्रोलियम पदार्थको कालोबजारीमा लिप्त भएका छन् । भारत सरकारले इन्धनमा अंकुश लगाएपछि नेपालसँगको सीमावर्ती भारतीय इलाकाका नागरिक कालोबजारीमा व्यस्त भएका हुन् । पेट्रोलियम पदार्थ बोकेका भारतीय नागरिक नेपाली प्रहरी–प्रशासनको आँखा छल्दै दिनमा ५–६ पटक पेट्रोलियम पदार्थ ओसार्छन् । र, महँगो मूल्यमा बेचेर कमाइधन्दा चलाइरहेका छन् ।

कालोबजारियाका लागि नाकाबन्दीले सिर्जना गरेको नेपाली संकट कमाउने अवसर बनेको छ । सारा प्रक्रिया पूरा गरेर नेपाल आउन ठिक्क परेका मालबाहक साधन रोक्ने भारतीय सुरक्षाकर्मीले यस्ता कालोबजारीलाई भने कुनै अवरोध गर्दैनन् ।

नेपालसँगको सीमावर्ती भारतीय बजार पानीट्यांकीबाट नेपालमा इन्धन ल्याएर कालोबजारी गर्न दैनिक १ हजारभन्दा धेरै साइकल, मोटरसाइकल तथा ठूला सवारीसाधनको प्रयोग भइरहेको छ । आँखै अगाडि कालोबजारी हुँदा पनि नेपाली प्रशासन मूकदर्शक हुन बाध्य छ । ‘बजारमा इन्धन पाइँदैन, रोकेर पनि के गर्ने ?’ काँकडभिट्टास्थित भन्सार ढाटको सुरक्षा चेकपोस्टमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘जनताको बाध्यता हामीले पनि बुझ्नुपर्छ ।’

उनका अनुसार भारतीय नागरिकको ठूलो झुन्ड दिनरात नभनी पेट्रोलियम पदार्थको तस्करीमा संलग्न छ । उनीहरूलाई नियन्त्रण गर्दा बजारमा अझै ठूलो संकट हुने त्रासले पनि प्रशासनले इन्धनको कालोबजारी नियन्त्रण गर्नबाट पछि हटेको सरकारी अधिकारीहरूको स्वीकारोक्ति छ ।

अरू त अरू, सुपारीको ओसारपसार र निर्माण मजदुरका रूपमा काम गर्न नेपाल आउने भारतीय नागरिक पेट्रोल र डिजेल बोकेर भित्रिने गरेका छन् । ‘१० लिटर लाँदा ५ सयसम्म फाइदा हुन्छ, कसले गरोस् इँटा बोक्ने काम ?’ नेपाल–भारतको सीमा मेची पुलमा डिजेलको जर्किनसहित भेटिएकी तापसी राजवंशीले भनिन्, ‘विर्तामोडसम्म पु¥याउँदा पेट्रोललाई जति मागे पनि दिन्छन् ।’
– नागरिक दैनिकबाट


  •  
  •  
  •