काठमाडौं २५ मंसिर ।
जोहो गरेको पेट्रोलमा सल्केको आगो लागेर बिहीबार राति असन त्यौडमा एकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।
लोडसेडिङमा बालेको मैनबत्तीले कोठामा राखेको पेट्रोल सल्किएर असन त्यौडस्थित कुलरत्न तुलाधरको कच्ची घरमा आगलागी हुँदा तेस्रो तलामा डेरा गरी बस्ने १८ वर्षीय सुजन नगरकोटीको मृत्यु भएको हो ।
महानगरीय प्रहरी बिट जनसेवा न्युरोडका डिएसपी विनोद घिमिरेका अनुसार आगलागी सुजनकै कोठाबाट सुरु भएको थियो । उनले कोठामा पाँच लिटर पेट्रोल राखेका थिए । पेट्रोल छेउमा मैनबत्ती राख्दा आगो सल्केको हो । आगो सल्किनेबित्तिकै भाग्न खोज्दाखोज्दै सुजनलाई लप्काले भेटेको थियो । सो घरमा सुजन र उनकी दिदी सुनु कोठा भाडामा लिएर बसेका थिए । आगो सुरु भएपछि तेस्रो तलाबाट हामफाल्दा सुनु घाइते भएकी छिन् ।
आगलागीबाट तुलाधरको चारतले घर ध्वस्त भएको छ । आगलागी साँझ साढे ७ बजे सुरु भएको प्रहरीको भनाइ छ । आगलागीबाट के–कति क्षति भयो भन्ने खुलिनसकेको डिएसपी घिमिरेले बताए । प्रहरी, सेना र स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।
नयाँपत्रिकाबाट