पेट्रोल बिक्रीवितरणकाे नयाँ नीति घोषणासँगै देशभर विरोध

91
  •  
  •  
  •  

एजेन्सी । इरानमा अनपेक्षित रूपमा पेट्रोल बिक्रीवितरणका लागि नयाँ नीति घोषणा भएसँगै देशभरि विरोध भएको छ । देशका विभिन्न स्थानमा विरोधप्रदर्शनहरू भएका छन् ।

विरोधका क्रममा सुरक्षाकर्मीहरूसँग भिडन्त हुँदा कम्तीमा एक जनाको मृत्यु र केही प्रदर्शनकारीहरू घाइते भएका छन् ।
अहिलेसम्म दिइँदै आएको अनुदान हटाई ५० प्रतिशतजति मूल्य बढाउँदा विपन्न जनतालाई आर्थिक सहयोग गर्न रकम उपलब्ध हुने सरकारी अधिकारीहरूको भनाइ छ ।

अमेरिकाले सन् २०१५ मा परमाणु सम्झौताबाट अलग्गिएपछि लगाएको नाकाबन्दीका कारण इरानले चरम आर्थिक संकट खेपिरहेको छ ।

शुक्रबार मूल्यवृद्धिको घोषणा भएको केही घण्टापछि प्रदर्शनहरू शुरु भएका थिए । केही सहरमा शनिवार पनि विरोध भयो ।
सरकारबाट इन्टरनेट प्रयोगमा नियन्त्रण भएको हुन सक्ने विवरणहरू प्राप्त भएको समाचार रोएटर्सले एउटा इन्टरनेट पर्यवेक्षण गर्ने समूहलाई उद्धृत गर्दै प्रकाशित गरेको छ ।

राज्यद्वारा सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा शनिवार गृहमन्त्री अब्दोलरेजा रहमानी–फाज्लीले ‘गैरकानुनी’ गतिविधि भइराखे शान्ति कायम गर्न राज्यका निकायहरूले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।
उनले केही सीमित व्यक्तिले सर्वसाधारणको भावनाको दुरुपयोग गरी डर र आतङ्क सिर्जना गरेको आरोप लगाए ।

बीबीसीका अनुसार सिर्जन नगरमा भएको प्रदर्शनका क्रममा शुक्रवार कम्तीमा एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

इरानी समाचारसंस्था इर्नाका अनुसार प्रदर्शनकारीहरूले एउटा इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेर आगो लगाउने प्रयास गर्दा प्रहरीसँग भिडन्त भएको थियो ।

नयाँ नीतिअनुसार एउटा सवारीसाधनका लागि एक महिनामा प्रतिलिटर १५,००० रियाल (झन्डै ५१.६१ रुपैयाँ) तिरेर केवल ६० लिटर पेट्रोल किन्न पाइनेछ। त्यो परिमाणभन्दा बढी पेट्रोल किन्दा प्रतिलिटिर ३०,०००० रियाल तिर्नुपर्नेछ ।
पहिला चालकहरूलाई प्रतिलिटर १०,००० रियाल मूल्यमा २५० लिटर पेट्रोल किन्न दिइने गरेको समाचारसंस्था एपीले जनाएको छ ।

अनुदान हटाएर गरिएको मूल्यवृद्धिबाट सङ्कलित राजस्व निम्न आय भएका परिवारलाई उपलब्ध गराइने सरकारले जनाएको छ ।


  •  
  •  
  •