काठमाडौं १२ वैशाख (ओएनएस) : अभाव भएको मौका छोपी कालोबजारी गर्नेहरुले पेट्रोल प्रतिलिटर पाँचसय रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । ग्रामीण भेगका बजारमा सञ्चालित किराना पसलमा बोतलमा राखेर प्रतिलिटर पाँचसय रुपैयाँका दरले पेट्रोल बिक्री भइरहेको छ ।
विराटनगरमा भने प्रतिलिटर दुई सय रुपैयाँसम्ममा बिक्री हुन्छ । पेट्रोलको बजार मूल्य भने प्रतिलिटर एकसय ३५ रुपैयाँ तोकिएको छ ।
खासगरी ग्रामीण भेगका बजारमा मिनिरल वाटरका बोतलमा भरेर पेट्रोल बिक्री हुने गरेको छ । मोरङ बिराटचोकस्थित सनराइज बैंकका शाखा प्रबन्धक यादब खतिवडाले बिहीबार नेताचोक बजारमा एक लिटर पेट्रोल पाँच सय रुपैयाँमा खरिद गरेको बताए ।
उनले भने ‘खुलेआम तेब्बरभन्दा धेरै मूल्य लिएर कालोबजारी भइरहेको छ । तर, सम्बन्धित निकायले चासो दिएको छैन् ।’ ग्रामीण बजारमा सडकछेउमै मेचमा बोतलमा राखेर पेट्रोल बिक्री हुने गरेको छ ।
मोरङका कटहरी, कसेनी, रंगेली, डायनिया, इटहरा, पथरी, उर्लाबारीलगायतका बजारमा पेट्रोलको कालोबजारी भइरहेको स्थानीय उपभोत्ताले बताएका छन् । पथरी बजारमा तीन सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । अन्नपूर्णपोष्टबाट