काठमाडौं १४ पुस । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै उपभोक्ताले पाउन छाडेका छन्। पेट्रोलमा प्रतिलिटर ७ र डिजेल तथा मट्टीतेलमा ५/५ रुपैयाँ घटेपछि देशैभरि पेट्रोलियम पदार्थको अभाव भएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा व्यापक गिरावट आएपछि नेपाल आयल निगमले पछिल्लो पटक पुस ४ गते मूल्य समायोजन गरेको थियो। स्वचालित मूल्य प्रणाली लागू गरेदेखि अभाव नभए पनि पछिल्लो पटक मूल्य घटेसँगै देशभरि समस्या देखिएको हो।
यसअघि प्रतिलिटर सामान्यतया लिटरमा दुई रुपैयाँको दरमा घट्थ्यो। नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार मूल्य घटेपछि उपत्यकासहित, बागमती, जनकपुर, नारायणी, गण्डकी धवलागिरि र राप्ती अञ्चलमा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ। एसोसिएसनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले नेपाल आयल निगमले मौज्दात नराख्दा समस्या देखिएको बताए।
निगमको सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण भण्डारण डिपो अमलेखगन्जमा एक हजार नौ सय ६० किलोलिटर (एक किलोलिटरबराबर एक हजार लिटर) पेट्रोल र १६ हजार एक सय किलोलिटर डिजेलको भण्डारण क्षमता रहेकोमा अहिले त्यहाँ पेट्रोलियम पदार्थ छैन।
काठमाडौं डिपोमा भण्डारण क्षमताको १५ प्रतिशतमात्र मौज्दात रहनु र पोखरा डिपोमा शून्य मौज्दातमात्र रहनुले निगमको चरम लापरबाही प्रस्ट भएको अध्यक्ष प्रधानको आरोप छ। यी डिपोबाहेक निगमको अन्य डिपोमा समेत क्षमताको २० प्रतिशतभन्दा कम मौज्दात रहेको एसोसिएसनले जनाएको जनाएको छ।
नेपाल पेटोलियम डिलर्स एसोसिएसनका अनुसार मूल्य घटेपछि उपत्यकासहित, बागमती, जनकपुर, नारायणी, गण्डकी धवलागिरि र राप्ती अञ्चलमा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले आइतबार राजधानीमा पेट्रोल पम्पमा गरेको अनुगमनका क्रममा समेत सबैजसो पम्प बन्द रहेको जनाएको छ। राजधानीका ज्ञानेश्वर, कालोपुल, नीलोपुल, गोपीकृष्ण, कपन, सानो गौचरनलगायतका सबै पम्प बन्द छन्।
पेट्रोलियमको अभावमा भ्याली फ्युल सेन्टर, ज्ञानेश्वर, जय श्री चन्द आयल स्टोर, कालोपुल, सानो गौचरन आयल स्टोर, सानो गौचरन, राजधानी आयल स्टोर, गोपीकृष्ण, एचआर हाउजिङ एन्ड आयल स्टोर, नीलोपुल कपन, भद्रा फ्युल कन्र्सन, कपन-३, आकाशेधारा, नीराजन स्टोर, (भानु तथा सिद्धार्थ ग्यासको बिक्रेता), कपन-३, बालुवाखानी, गौतम खाद्य सप्लायर्स, (नेपाल ग्यासको अधिकृत बिक्रेता), महांकाल-३, सुन्दरबस्ती बन्द रहेको अनुगमन टोली प्रमुखसमेत रहेका विभागका निर्देशक हरिनारायण बेल्वासेले जानकारी दिए।
विगतमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अत्यधिक वृद्धि हुँदा मौज्दात राख्ने तर अहिले तीव्र रूपमा घट्दा स्टक नराख्नु शंकाको विषय भएको एसोसिएसनको भनाइ छ। विगतमा प्रतिब्यारल एक सय ५० अमेरिकी डलरको आसपासमा रहेको मूल्य अहिले प्रतिब्यारल ५८ अमेरिकी डलरको आसपास झरेको छ।
एसोसियसनका महासचिव विश्व अर्यालले कसको रुचिमा यस्तो भइरहेको हो त्यसबारे अनसन्धान हुनुपर्ने माग राखे। यसका लागि एसोसिएसनका पदाधिकारीले शनिबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी जानकारी दिइएको महासचिव अर्यालले बताए।
भारतबाट पेट्रोलियम पदार्थको आपूर्तिमा पूर्ण सहयोग रहनु, राजनीतिक आन्दोलन एवं बन्द हडतालजस्ता कुनै कार्यक्रमले सडक अवरोध नहुनु, ढुवानीकर्ता अहोरात्र ढुवानी गर्न तयार रहेकै बेला भएको अभावले शंका उब्जाएको उनको कथन थियो।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले सोमबारदेखि नै आपूर्ति सहज हुने दाबी गरे। बीचमा बिदा परेर ल्याउन नपाउँदा समस्या देखिएको उनको कथन छ। अन्नपूर्णपोष्टबाट