सहसचिवसहित पम्प सञ्चालकहरू जेल चलान

144
  •  
  •  
  •  

काठमाडौं १० पुस ।
रिमोट प्रविधिमार्फत पेट्रोल पम्पहरूको ठगीमा वातावरण मन्त्रालयका सहसचिव रामआधार साह, नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रविन शर्मासहित पम्प सञ्चालक र मिस्त्रीहरू जेल चलान भएका छन् । ठगी मुद्दामा अदालतले बिहीबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । सहसचिव साहलाई ललितपुर अदालतले तथा शर्मालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

रिमोट प्रविधिबाट पम्पहरूले गर्ने ठगीमा प्रहरीले १९ जनाविरुद्ध बुधबार मुद्दा दायर गरेको थियो । वातावरण मन्त्रालयका सहसचिव साह, आयल निगम थानकोट डिपो प्रमुख शर्मासहित १९ जनाविरुद्ध ठगी र कालोबजारी मुद्दा दर्ता गरिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै अदालतले अभियुक्तहरूलाई थुनामा पठाउने आदेश दिएको हो ।

क्रिस्टल पेट्रोलपम्पका कल्याण खड्काबाहेक अरू सबै अभियुक्त जेल चलान भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले बताए । क्रिस्टल पम्पका कर्मचारी खड्का भने मालिक नभएकाले काठमाडौं जिल्ला अदालतले ४० हजार धरौटीमा छाडेको छ । गुणस्तर तथा नापतौल विभागमा महानिर्देशक रहेका वेला सहसचिव साहकै योजनामा ठगी भएको थियो । उनले नै पम्प सञ्चालकहरूलाई भारतीय मिस्त्री नसिम सिद्दिकीलाई चिनजान गराई डिजिटल प्रविधिबाट ठगी गर्ने चिप्स जोड्न सघाएका थिए । नसिम र पम्प सञ्चालकहरूको बयानका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

महानगरीय अपराध महाशाखाले गत ६ असोजमा २३ वटा पेट्रोलपम्पमा एकैपटक छापा हानेको थियो । जसमध्ये १३ वटामा इन्धनको परिमाण मिटरमा देखाएभन्दा कम वितरण हुने सिस्टम जडान गरेको खुलेको थियो । महाशाखाले आयल निगमसँग डाटा लिएर गरेको अनुसन्धानमा उनीहरूले १५ करोड २२ लाख रुपैयाँ ठगी गरेको खुलेको थियो ।

त्यस्तै, पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि हेमविक्रम बराल पनि जेल चलान भएका छन् । गायत्रीदेवी आयल स्टोर एकान्तकुनाका शैलेन्द्रनाथ वादे, महालक्ष्मी विश्वकर्मा ट्रेडर्स, चापागाउँका शिव तिमल्सिना, युनिक फ्युल सेन्टर बालकुमारीका गोपाल महर्जन, त्रिशक्ति फ्युल सेन्टर सानेपाका युनुष प्रधान, भक्तपुर फ्युल सेन्टर आदर्श बस स्टपका सञ्चालक पुण्यराम बखाडेया र बंगलामुखी आयल स्टोर्स, सानो भर्‍याङका सञ्चालक सीताराम घिमिरे जेल चलान भएका छन् ।

त्यस्तै, मिस्त्रीहरू नसिम सिद्दिकी, अयुब आलम, हमिद हुसेन, मोहम्मद अबरार र रौतहटका शेख इम्तिहासलाई पनि जेल चलानको आदेश भएको ललितपुर प्रहरीका प्रवक्ता डिएसपी दयानिधि ज्ञवालीले बताए ।

नयाँपत्रिकबाबाट


  •  
  •  
  •