काठमाडौं १४ कात्तिक ।
नेपाल आयल निगमले सुरक्षा निकायका पेट्रोल पम्पलाई अन्य पम्पको तुलनामा बढी इन्धन दिए पनि सर्वसाधारणलाई वितरण नगर्ने गरेको पाइएको छ । तीनवटै सुरक्षा निकायका पम्पले ‘सुरक्षा मौज्दात’ (सेक्युरिटी स्टक) का नाममा अधिक इन्धन मौज्दात राखेको फेला परेको छ । सुरक्षा निकायका पम्पले सरकारी सवारीसाधन र पहुँचवाला व्यक्तिलाई मात्रै इन्धन वितरण गरेको गुनासो बढ्दै गएको छ । आयल निगमबाट स्वीकृति लिएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनवटै सुरक्षा निकायले कल्याणकारी कोषमार्फत पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् ।
अनुगमनकारी निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले १० कात्तिकयता गरेको अनुगमनमा सुरक्षा निकायको एउटै पम्पमा डिजेल र पेट्रोल गरी ५० हजार लिटरआसपासमा मौज्दात राखेको भेटिएको छ । तर, उनीहरूले प्रभावकारी वितरण नगरेको विभागको अनुगमन प्रतिवेदनमा उल्लेख छ । पेट्रोलिय पदार्थको वितरण गर्ने आयल निगमलाई नियमन अधिकार पनि छ । तर, निगम आफैँले वितरण गरेको इन्धन कसरी वितरण भइरहेको छ भन्नेबारे चासो दिन सकेको छैन ।
वाणिज्य विभागको १० कात्तिकको अनुगमन प्रतिवेदनअनुसार नक्सालस्थित नेपाल प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पमा डिजेल २७ हजार ३ सय ५९ लिटर र पेट्रोल २२ हजार १ सय ६५ लिटर मौज्दात थियो । यति धेरै तेल मौज्दात आवश्यक नभएको निगम र विभागकै ठहर छ । निगमको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले सुरक्षा निकायलाई सेक्युरिटी स्टक चाहिने भएका कारण आवश्यकताअनुसार वितरण गरेको बताए । ‘सुरक्षा निकायलाई मौज्दात तेल चाहिन्छ, सोहीअनुसार तेल पठाएको छु,’ उनले भने । सुरक्षा निकायले मौज्दात इन्धन धेरै राखेको जानकारी पाएको भन्दै उनले नियन्त्रण गर्ने बताए ।
‘अब शनिबारबाटै सुरक्षा निकायका पम्पलाई उपलब्ध गराउने इन्धन परिमाणमा पनि नियन्त्रण सुरु हुन्छ,’ उनले भने । वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेले पनि सुरक्षा निकायलाई मौज्दात तेल आवश्यक भए पनि संकटका वेला मितव्ययी हुन आवश्यक रहेको बताए । ‘सुरक्षा निकायका लागि इन्धन मौज्दात राख्नु राम्रो कुरा हो तर, अनुगमनबाट फेला परेको मौज्दात परिमाण बढी नै हो भन्ने लाग्छ,’ उनले भने । आवश्ककताअनुसार निश्चित परिमाण मात्रै मौज्दात राखेर बाँकी इन्धन सर्वसाधारणलाई वितरण गर्न सुरक्षा निकायका पम्पलाई आग्रह गरिएको उनले बताए ।
‘अहिले सुरक्षा निकायका पम्पलाई धेरै इन्धन वितरण भइरहेको छ, तर सर्वसाधारणले विभिन्न गुनासो गर्दै आएका छन्,’ उनले भने, ‘यस्तोमा हामीले सुरक्षा निकायकै पम्पबाट व्यवस्थित रूपमा इन्धन वितरण होस् भनेर छलफल थालेका छौँ ।’ विभागले बिहीबार साँझ नक्सालस्थित प्रहरीको पम्पमा छलफल गरेको छ । छलफलमा प्रहरी अधिकारीले दु:ख गरेर इन्धन वितरण गरेको जानकारी गराएका थिए । उनीहरूले पम्पमा आएको तेल व्यवस्थित रूपमा वितरण गरेको दाबी गरेका थिए ।
प्रहरीकै सामखुसीमा रहेको महालक्ष्मी फ्युल सेन्टरमा ११ हजार २ सय १० लिटर डिजेल र २२ हजार १ सय ६५ लिटर पेट्रोल मौज्दात भेटिएको छ । प्रहरीका पम्पलाई निगको थानकोट डिपोले दैनिक औषतमा ४ हजार लिटर पेट्रोल र ६ हजार लिटर डिजेल उपलब्ध गराउँदै आएको तथ्यांक छ । तर, बिहीबार ८ हजार लिटर पेट्रोल र ६ हजार लिटर डिजेल उक्त पम्पमा निगमले दिएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले नक्सालस्थित पेट्रोलपम्पमा बिहीबार साँझसम्म १७ हजार लिटर डिजेल र १३ हजार लिटर पेट्रोल मौज्दात रहेको जानकारी दिए । ‘सेक्युरिटी स्टकका रूपमा पेट्रोलपम्पको क्षमताको ५० प्रतिशत राख्ने गर्छौँ, तर पर्याप्त इन्धन नभएको अवस्थामा अहिले त्यो पनि राखिएको छैन,’ प्रवक्ता बमले भने । नक्साल पम्पको भण्डारण क्षमता ८० हजार लिटर रहेको जानकारी उनले दिए । नयाँपत्रिकाबाट