पेट्रोलियम पदार्थ बोकेका १ सय ४० ट्यांकर पैडिया नाकामा रोकियो

671
  •  
  •  
  •  

बाँके, ७ चैत(ओएनएस) : पेट्रोलियम पदार्थ बोकेका १ सय ४० वटा ट्यांकरहरु रुपैडिया नाकामा भारतीय भन्सारले रोकेको छ ।

अनलाइनमा समस्या आएको भन्दै ट्यांकरसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीका अनुसार फलफूल र तरकारी गाडी कागजी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भने अनलाइन सेवा सञ्चालन नभएसम्म नेपाल आउने सम्भावना रहेको छैन् ।
१० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीले देखाएका छन् ।
भन्सारका डेपुटी कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्यांकर छोड्नकै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीले बताएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत केसीले बताए ।
नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिशेखकुमार ठाकुरले पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भित्र्याउन पहल भइरहेको बताए ।
उनले नेपाल आयल निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण गरेको बताए ।


  •  
  •  
  •