विश्वभर शान्ति फैलाउन कर्णालीमा अनुसन्धान केन्द्र

116
  •  
  •  
  •  

विनोद शर्मा

जुम्ला ६ असोज (ओएनएस) ः जुम्लाको खलँगा हमलामा मारिएकाहरुको सम्झनामा कार्तिकस्वामी गाविस वडा नम्बर २ बोहोरागाउँमा मितेरी शान्ति अनुसन्धान केन्द्र निर्माणको कामलाई तीव्रता दिइएको छ । कर्णालीलाई शान्ति विकास केन्द्रका रुपमा चिनाउनुका साथै कर्णालीबाट विश्वभर शान्तिको सन्देश फैलाउने उद्देश्यले मितेरी शान्ति अनुसन्धान केन्द्र निर्माण थालिएको हो ।

द्धन्द्धको क्रममा २०५९ साल कार्तिक २८ गते खलँगा हमलाका प्रत्येक्षदर्शी राधा पौडेलले शान्ति अनुसन्धान केन्द्रको अवधारणा ल्याएकी हुन् । उनी भन्छन, “हमलाका क्रममा मसँगै बसेका साथीहरु मरे तर म संयोगले बाँचें । द्धन्दका क्रममा मारिएका व्यक्तिहरु चाहे माओवादी तर्फका हुन्, चाहे आर्मी प्रहरीका, चाहे सर्वसाधारण उनीहरुको सम्मान गर्नुपर्छ भनेर मितेरी शान्ति अनुसन्धान केन्द्रको अवधारणा ल्याएको हुँ । २०५९ मंसिरको दोस्रो हप्तामा शान्ति अनुसन्धान केन्द्रको अवधारणा आए पनि मुर्त रुप दिनका झण्डै दश वर्ष लाग्यो ।”

मितेरी शान्ति अनुसन्धान केन्द्रमा पुस्तकालय, ध्यान केन्द्र, गेष्टहाउसका साथै शान्ति स्तम्भ निर्माण गरिने एक्सन वक्र्स नेपालका अध्यक्ष समेत रहनुभएका राधा पौडेलले बताएन । एक्सन वक्र्स नेपालको पहलमा बन्न लागेको शान्ति अनुसन्धान केन्द्र अन्तर्गतको शान्ति स्तम्भ निर्माणको काम सकिएको छ । पौडेलले भनिन “समाजसेवी महाशंकर देवकोटाले मेरा लागि भनेर ६ सय ६३ वर्गमिटर जग्गा दिनु भएको थियो । मैंले उक्त जग्गा अनुसन्धान केन्द्र निर्माणका लागि संस्थालाई हस्तान्तरण गरें । शान्ति स्तम्भको आइतबार परेको अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा अनावरण समेत गरिएको छ ।” अघिल्लो वर्ष असोज ४ गते शिलान्याश गरिएको केन्द्र अन्तर्गत शान्ति स्तम्भ निर्माण कार्य सकिएको हो । शान्ति स्तम्भका बारेमा स्थानीय खस, नेपाली, अँग्रेजी र जर्मन गरि ४ वटा भाषामा लेखिएको छ ।
अष्ट्रियन नागरिक हेल्गा र उनका छोरा माइकलले स्तम्भ निर्माण गरेका हुन् ।

Peace Garden 2मितेरी शान्ति अनुसन्धान केन्द्र निर्माणका लागि डेढ करोड रुपैंयाँ लाग्ने भएको छ । केन्द्र निर्माणका लागि नक्सा तयार भैसकेको जिल्ला संयोजक केशव धितालले बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाका सभापति लोकदर्शन श्रेष्ठको संयोजकत्वमा गठन भएको मितेरी शान्ति वाटिका निर्माण मुल समितिले वाटिका निर्माणका लागि विभिन्न निकायसँग समन्वय गर्ने र आवश्यक तयारी गरिरहेको छ । संयोजक श्रेष्ठ भन्छन्, “राधा बहिनीले ल्याउनु भएको अवधारणा हामीलाई पनि मन पर्यो । देशमैं नमुना काम उहाँ र उहाँको संस्था एक्सन वक्र्स नेपालले गर्न लागेको छ । शान्ति वाटिका बनेपछि विदेशबाट समेत शान्तिका बारेमा अनुसन्धान गर्नेहरु जुम्ला आउँछन् भन्नेमा हामी ढुक्क छौं । यो काम पुरा गर्नका लागि डेढ करोड रुपैंयाँ लाग्ने भएकोले रकम संकलनको काम भैरहेको छ ।”

आफुले लेखेको खलँगामा हमला नामक पुस्तक बिक्रीबाट प्राप्त हुने रोयल्टी बापतको सबै रकम शान्तिवाटिका निमार्णमा खर्च गर्ने पौडेलको भनाइ छ । उनी भन्छिन्, “खलँगा हमलाको मेरो अनुभव समेतलाई समेटेर मैंले लेखेको पुस्तक खलँगामा हमलाले २०७० सालको मदन पुरस्कार पाएको छ । उक्त पुस्तकमा जुम्लाबासीको पनि अँश लाग्छ त्यसैले पुस्तकको बिक्रीबाट मैंले पाउने रोयल्टी बापतको १० प्रतिशत रकम पुरै शान्ति वाटिकामा लगानी हुन्छ । शान्ति वाटिका भनेको सम्पूर्ण कर्णालीबासीको हो, द्धन्द्ध प्रभावितको हो, यो राधा पौडेलको, एक्सन वक्र्सको हो भनेर नसोच्नुहोला ।” द्धन्द्धमा ज्यान गुमाएका र प्रभावित भएकाहरुको सम्झनामा निर्माण हुँदै गरेको मितेरी शान्ति अनुसन्धान केन्द्रलाई सहयोग गर्न राधा पौडेलले सम्पूर्णलाई आग्रह गरिन ।

उनले भनिन, “वाटिका जुम्लाको, कर्णालीको सम्पत्ती हो । यो सम्पत्ती तयार गर्न जसले जे सक्नुहुन्छ सहयोग गर्नुस् । पैसा सक्नेले पैसा, श्रम गर्न सक्नेले श्रम गर्नुस् । एउटा ढुङ्गा, काठ, ईटा, सिमेन्ट वा छड जे दिनुहुन्छ स्वागत छ । मितेरीको अर्थ नैं यहि हो सबैसँग मित लगाएर अघि बढ्नुपर्छ ।” एउटा कोठा, एउटा तला निर्माण गर्न चाहे पनि पाइने एक्सन वक्र्स नेपालका जिल्ला संयोजक केशव धितालले जानकारी दिनुभयो । त्यस्ता व्यक्ति तथा संस्थाले कोठा अथवा तलामा आफ्नो नाम समेत लेख्न सक्ने उहाँको भनाइ छ । उनले भनिन, “अहिलेसम्म म एउटा कोठा वा तला बनाउन सघाउँछु भनेर कोहि आउनु भएको छैन । त्यस्ता महानुभावहरुलाई आफन्त वा आफ्नै नाममा कोठा वा तला बनाउन दिन्छौं ।”

Peace Garden 3केन्द्र निर्माण कार्य आगामी २ वर्षमा सक्ने लक्ष्य राखिएको छ । देशमैं नमुनाका रुपमा शान्ति सम्बन्धी अनुसन्धान गर्ने स्थल निर्माण गर्न लागेकोले यो अवसरको सदुपयोग गर्न पौडेलले जुम्लाबासी तथा कर्णालीबासीलाई अनुरोध गरिन । चितवनको स्थायी बासिन्दा राधा पौडेलले एक्सन वक्र्स नेपाल नामक गैर सरकारी संस्था स्थापना गरि मितेरी गाउँ सँगसँगैं बाचौं भन्ने नाराका साथ जुम्लामा विभिन्न कार्यक्रम गरिरहेकी छन् । शनिगाउँ गाविसमा बर्थिङ सेन्टर निर्माण भएको छ भने, महिलाको प्रजनन् स्वास्थ्य तथा छाउपडी प्रथा उन्मुलनका कामहरु समेत गरिरहनु भएको छ । पछिल्लो समय उनले लायन्स क्लव अफ इन्टरनेशनल तथा चौधरी ग्रुपसँग मिलेर जुम्लामा सामाजिक व्यबसाय प्रवद्र्धनका कामहरु पनि गर्दै आएकी छन् ।


  •  
  •  
  •