विपी राजमार्ग बैशाखबाट सञ्चालनमा ल्याइने

265
  •  
  •  
  •  

काठमाडौं, २६ कात्तिक (ओएनएस) : वीपी राजमार्ग आगामी फागुनसम्म तयार हुने भएको छ ।आगामी फागुनमा सो सडकको निर्माणलाई अन्तिम रुप दिइने सो सडकको निर्माण गरिरहेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का उपाध्यक्ष तोशियुकि कुरोयानागीले बताए ।

साथै आगामी बैशाखमा त्यसको औपचारिक उद्घाटन गरिने उनले जानकारी दिए ।

हाल नेपाल भ्रमणमा रहेका कुरोयानागीले यस्तो बताएका हुन् । काभ्रेको धुलिखेलदेखि सिन्धुलीको बर्दिबास जोड्ने सो सडक जापान सरकारको अनुदानमा निर्माण भइरहेको सडक काठमाडौंलाई पूर्वी तराइसँग जोड्ने छ । १ सय ५८ किमिको बीपी राजमार्गले नारायणगढ–हेटौंडा हुँदै बर्दिबाससम्म पुग्ने यात्रालाई २ सय किमिभन्दा बढीले छोटो बनाउने छ । सन् २०११ मै सम्पन्न गर्ने भनिए पनि त्यसलाई सारेर २०१५ पु¥याइएको थियो ।

जाइकाले सीतापाइला देखि नौबिसेसम्मको सुरुङ मार्गको संभाव्यता अध्ययन गरिरहेको कुरोयानागीले जानकारी दिए । सो सुरुङ मार्गमा जापानले लगानी गर्ने नगर्ने भन्ने निर्णय भने नभएको उनले जानकारी दिए । ‘जापान सरकारले सुरुङ मार्गमा ऋण लगानी गर्ने संभावना बढी छ उनले भने ।

त्यसैगरी जापान सरकारले काठमाडौं उपत्यका शहरी यातायात सुधार परियोजनाको विस्तृत गुरुयोजना निर्माणमा नेपाललाई सघाइरहेको छ । ५ देखि १५ वर्षे अवधिको गुरुयोजनाले उपत्यकामा कस्तो प्रकारको यातायात व्यवस्था लागू गर्ने भन्ने विषयमा अवधारणा बनाउने जाइका बताइएको छ ।


  •  
  •  
  •