जागीरबाट अवकाश, बेतलबी बिदा र बीमा भुक्तानी ढिलाइ हुँदा पत्रकारलाई थप समस्या

365
  •  
  •  
  •  

पोखरा । जागीरबाट अवकाश, बेतलबी बिदा र बीमा भुक्तानी ढिलाइ हुँदा पत्रकारहरुमा थप समस्या उत्पन्न हुने गरेको छ ।

आउटलाइन मिडियाले शुक्रबार पोखरामा आयोजना गरेको ‘कोभिड– १९ मा पत्रकारिताको अवस्था र अनुभव’का विषयमा पत्रकारबीच गरेको अन्तरक्रियामा सहभागी पत्रकारले आफूलाई संक्रमण हुँदाको अवस्था र भोग्नुपरेको कठिनाइ बिर्सेर अन्य संक्रमितका समस्या र पीडा उजागरमा लागेको अनुभव सुनाएका थिए ।

पत्रकार अमृत सुवेदीले संक्रमित हुँदाको पीडा अनगन्ती भए पनि आफ्नो समस्या बिर्सेर अन्य नागरिकका समस्या र पीडा उजागर गर्न कलम चलाइरहेको बताए । ‘जो संक्रमित भएर आइशोलेशनमा बस्नुभयो, ती श्रमजीवी पत्रकारका अनुभव निकै पीडादायी छन् तर सामाजिक परिवर्तनको अग्रमोर्चामा खटिएका हामीले हाम्रा समस्यालाई गौण ठान्दै आमनागरिकका भोगाइलाई ल्याइरह्यौँ, हाम्रो सामाजिक सुरक्षाको पाटो निकै कमजोर थियो ।’

पत्रकार गोविन्द सुवेदीले कोरोना संक्रमणका कारण धेरै मानसिक तनाव भोग्नुपरेको अनुभव सुनाए । उनले भने, ‘म संक्रमित भएर होम आइसोलेशनमा बसेको थिएँ, श्रीमती स्टेशनरी पसल चलाउँथिन्, हाम्रो पसल त बन्द भयो तर म संक्रमित भएकै कारण मेरो छिमेकका पसलमा समेत करीब दुई हप्ता व्यापार ठप्प भयो ।’ कोभिड –१९ का बारे मानिसको बुझाइ बढी नकारात्मक भइदिँदा संक्रमितको मनोबल गिर्दै गएको उनले सुनाए । साथै असहज परिस्थितिमा कार्यरत सञ्चारमाध्यमले पत्रकारलाई जागीरबाट निकालेको र बेतलबी बिदामा राखेर थप मानसिक पीडा दिने गरेको बताए ।

फोटो पत्रकार राधिका कँडेलले महामारीमा सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमित हुँदा मानसिक रुपमा परेको असरको अनुभव सुनाइन् । समाजका केही व्यक्तिको पत्रकारिताको मर्म र धर्म नबुझी डुलेको डुल्यै गर्ने पत्रकारलाई कोराना नलागे कसलाई लाग्छ भन्ने भनाइले पनि बेलाबेला पीडा दिने गरेको सुनाइन् । उनले भनिन्, ‘फोटोका लागि कार्यस्थलमा नै गएर खिँच्नुपर्छ तर पेशागत धर्म निर्वाह गरेर काम गर्दा पनि अनावश्यक हिँडेर संक्रमित भएको भनी गरिने टीकाटिप्पणीले निकै मानसिक तनाव दियो । निद्रा लाग्ने औषधिको सहारा समेत लिनुपर्‍यो ।’

पत्रकार कविता श्रेष्ठले संक्रमित हुँदा सबैको साथ र सहयोग पाएको तथा सकारात्मक ऊर्जा प्रवाह गरेर कोरोना परास्त गर्न सफल भई अन्य संक्रमितको मनोबल उच्च राख्न मनोपरामर्शमा जुटेको अनुभव सुनाइन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कास्कीमा अहिलेसम्म ३३ पत्रकार कोरोना संक्रमित भएको जानकारी दिए । पत्रकारको कोरोना बीमा गरिए पनि भुक्तानीमा ढिलाइ भएको बारे महासंघले पहल गरिरहेको उनको भनाइ थियो । उनले बन्दाबन्दीका समयमा पत्रकारको तलब कटौती भएको र बेतलबी बस्नुपरेको कुरा बाहिर आए पनि महासंघमा चारपाँच मात्र उजुरी परेको र सो विषयमा सम्बन्धित सञ्चारगृहमा बसेर समस्या समाधानका लागि पहल भएको बताए ।

पत्रकार महासंघका गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले आत्मविश्वासका साथ कोरोना परास्त गर्न सफल भएको अनुभव सुनाउँदै गण्डकी प्रदेशमा ६३ पत्रकार कोरोना संक्रमित भएको जानकारी दिए । प्रदेश सरकारले लोककल्याणकारी विज्ञापनका लागि रु. ५० लाख छुट्याए पनि भुक्तानी प्रक्रिया निकै जटिल रहेको र करिब तीन सय मिडियाका लागि निकै थोरै भएको बताए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सञ्चारमाध्यम रहे पत्रकार रहने र पत्रकार रहे सञ्चारमाध्यम रहने भन्दै दुवैबीच देखिएको द्वन्द्व र दूरी घटाएर सँगसँगै अघि बढ्ने वातावरणको खाँचो रहेको बताए ।

वरिष्ठ पत्रकार राजेन्द्र दाहालले कोरोना भाइरसको विषम परिस्थितिमा मान्छेको मृत्यु र संवेदनशीलतालाई कसरी प्रभावित पारेको हुन्छ भन्ने अन्तर्राष्ट्रिय घटना सुनाउँदै संकटमा पत्रकारले ध्यान दिनुपर्ने विषयमा सहजीकरण गरेका थिए । उनले कोभिड –१९ ले पत्रकारलाई मनावैज्ञानिक र आर्थिक रुपमा नै गम्भीर असर पारेको र समाचार उत्पादनमा समेत ह्रास आएको बताए ।

आउटलाइन मिडियाका निर्देशक सरोज दाहालले सात प्रदेशका विभिन्न जिल्लामा कोभिड– १९ महामारीमा पत्रकारिताको अभ्यासबारे अनुभव आदानप्रदान कार्यक्रम गरिएको बताए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध ३२ पत्रकारहरुको सहभागिता थियो ।


  •  
  •  
  •