पशुपतिनाथ गर्भगृहमा भारतीयद्वारा नापजाँच

86
  •  
  •  
  •  

काठमाडौं १९  चैत।
विधि, परम्परा र मान्यताविपरीत पशुपतिनाथ गर्भगृहमा प्रवेश गरी मूल शिवलिंगको नापजाँच भारतका पुरातत्त्व विभागका अधिकारीहरूबाट भएपछि असहज परिस्थिति उत्पन्न भएको छ।

गोप्य रूपमा भारतीय टोलीले त्यस्तो काम गरिरहेका बेला जानकारी पाएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले तत्काल रोक्न संस्कृतिमन्त्री दीपकचन्द्र अमात्यलाई आदेश दिएपछि परम्परागत रूपमा निषेधित उक्त कार्य बुधबार दिउँसोदेखि रोकिएको छ।

अत्यन्त गोप्य रूपमा दुई दिनसम्म सञ्चलित नापजाँच कार्य पशुपति क्षेत्र विकास कोषको अगुवाइमा भएको तथ्य खुलेको छ। त्यसमा मूल भट्टलगायत पुजारीसमेतको संलग्नता स्पष्ट भएको छ।

मूलभट्ट, भट्ट र भण्डारी तथा विशेष पर्वमा राजा/राष्ट्राध्यक्षबाहेक गर्भगृह प्रवेश अरूका लागि पूर्ण निषेध छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनले काम रोक्न आदेश आएपछि रोकिएको स्वीकारे।

उनले भने, ‘सर्भे सुरु भएपछि भारत नै पशुपतिनाथभित्र पस्यो भन्नेजसरी हल्ला फैलाएर अनावश्यक र नकारात्मक टीकाटिप्पणी भयो। तत्कालका लागि काम रोक्नू भन्ने सूचना आएकाले बुधबार दिउँसैदेखि काम रोकेका छौं।’

उपप्रधानमन्त्री गौतमले मन्त्री अमात्यलाई भनेपछि अमात्यले सदस्यसचिव टन्डनलाई फोन गरी काम रोक्न निर्देशन दिएका थिए। भारतीय टोलीले मूल मन्दिर प्रवेशका लागि आवश्यक पर्ने न्यूनतम धार्मिक प्रक्रियासमेत पूरा गरेन।

मन्दिरका भण्डारी केदारमान राजभण्डारीले अन्नपूर्णसँग भने, ‘नियमअनुसार कपाल खौरिएर र धोती बेरेर प्रवेश गर्नुहोस् भनी आग्रह गर्दासमेत भारतीय टोलीले मानेन।

पूजामा विधिपूर्वक खटिने व्यक्तिबाहेक नेपालीले नै प्रवेश नपाउने ठाउँमा भारतीय टोलीले प्रवेशमात्र होइन ढुकुटीको समेत नापनक्सा र तस्बिर लिने काम गर्‍यो’, उनले भने।

उनले सर्भेका लागि कोषको परिषद्ले समेत निर्णय नगरेको दाबी गरे। उनले भने, ‘दुईचारजना कर्मचारी र भण्डारी बसेर निर्णय गर्दैमा हुने विषय होइन यो, संवेदनशील क्षेत्रमा किन विदेशीलाई खुलेआम पस्न दिइयो?

दुई देशका सम्बन्धित निकायबीच समझदारीपत्रमा समेत हस्ताक्षर नभई पशुपतिनाथ मन्दिरमा रोमलसिंह जाम्वालको नेतृत्वमा आएको भारतीय टोलीले प्रवेश पाएको हो।

पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले पशुपति क्षेत्र विकास कोषले समझदारीपत्र (एमओयू) को तयारी गरिरहेको बताए। उनले मन्दिर संरक्षण वा जीर्णोद्धारमा विभागले अनुमति दिन सक्ने भएकाले सोअनुसार काम भएको दाबी गरे।

उनले थप काम भने मन्त्रालयका सहसचिव, विभागका महानिर्देशक, कोषका सदस्यसचिव र कार्यकारी निर्देशकका साथै दुई नेपाली विज्ञको स्टेरिङ कमिटी बनाएरमात्र हुने प्रतिक्रिया दिए।

स्रोतका अनुसार भारतले गत वर्ष पनि पशुपतिनाथको सम्पूर्ण आन्तरिक अवस्थिति परीक्षणको प्रयास गरेको थियो। तर त्यसबेला केही विरोध भएपछि काम हुन सकेको थिएन।

गत वर्ष आएको टोलीमध्येकै केही व्यक्ति अहिलेको टोलीमा पनि आएका छन्। सदस्यसचिव टन्डनले दुई वर्षअघि कोषले मन्त्रालयसँग समन्वय गरी भारतीय दूतावासलाई पत्राचार गरेअनुसार सर्भे भएको दाबी गरे।

उनले भने, ‘पशुपतिनाथ मन्दिर जीर्ण भएको छ, मर्मत आवश्यक छ। रोगी डाक्टरसामु पुगेपछि डाक्टरले रोग पत्ता लगाउन पेट थिच्न सक्छ, टाउको छाम्न सक्छ, भिडियो एक्सरे गर्न सक्छ। कि नेपालका मठमन्दिर जीर्णोद्धार गर्न कसैको कुनै सहयोग नै चाहिँदैन भन्नुपर्‍यो कि दिनुपर्‍यो। राम्रो काम गर्न नदिने प्रवृत्ति हो यो।’

गर्भगृहमाथिको पहिलो तलाको वरिपरि मंगलबार र बुधबार मन्दिरको भित्री भागमा उक्त टोलीले निरीक्षण गरेको थियो। यस क्रममा एउटा मरेको बाँदरको अस्थिपञ्जर र अर्को बाँदरको टाउको भेटिएको छ भने लिच्छविकालीन इँटा पनि फेला परेको छ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •