देशभरका शिवालयमा भक्तजनको भीड

127
  •  
  •  
  •  

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो ।
पशुपतिमा बिहान ३ः३० बजेदेखि पूजा एवं दर्शनका लागि लाममा बसेका थिए ।

अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ ।

पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी–भुवनेश्वरी–शंकराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिंगलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड लागेको छ ।

विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चांक निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतम सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा उल्लेख गरिएको बताउँछन् ।

यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ ।


  •  
  •  
  •