पशुपति क्षेत्र विकास कोषको सम्पत्ति सार्वजनिक

९ किलो भन्दाबढी सुन जम्मा
746
  •  
  •  
  •  

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सम्पत्ति तथा गुठी जग्गाको प्रतिवेदन बुधबार सार्वजनिक गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको २०७४ कात्तिक ६ गतेको निर्णयअनुसार गठन भएको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानबिन समितिले पत्रकार सम्मेलन गरी सम्पत्ति विवरण र गुठी जग्गाको प्रतिवेदन सार्वजनिक गरेको हो ।

समितिले ०७४ कात्तिक १६ गतेदेखि काम सुरु गरेको थियो । अध्ययनको लागि समय अपुग भएपछि ०७५ साउन २९ मा समितिको म्याद छ महिना थप गरिएको थियो ।

समितिका अनुसार हाल १८ हजार ३ सय ४२ रोपनी २ आना २ दाम जग्गा रहेको छ ।  पशुपतिनाथको ढुकुटीमा २०१९ देखि ०७५ सम्म ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको कोषले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

यस्तै चाँदी ३ सय १६ किलो ५ सय ८६ ग्राम जम्मा भएको भएको छ, भने नगद मौज्दाततर्फ १ अर्ब २९ करोड ३८ लाख ३१ हजार २ सय १५ रुपैयाँ विभिन्न बैंकमा मौज्दात रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषको सार्वजनिक गरेको प्रतिवेदनमा २०१९ देखि २०७५ सालसम्मका सम्पत्तिको विवरण उल्लेख छ ।

समितिका अनुसार पशुपतिनाथ भण्डार तहबिलबाट प्राप्त तायदाती मुचुल्का अनुसार २०१९ देखि २०६८ सम्म ८ किलो २ सय ३२ ग्राम सुन र १ सय ७५ किलो ४ सय ५८ ग्राम चाँदी मूल ढुकुटीमा दाखिला भएको देखिएको छ ।
त्यस्तै ०६८ देखि ०७५ सालसम्म सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणअनुसार १ हजार ४४.६४ ग्राम सुन र १ लाख ४१ हजार १ सय २८.७५ ग्राम चाँदी ढुकुटीमा जम्मा भएको छ ।

समितिले २०१९ भन्दा अगाडिको तायदाती मुचुल्का फेला पार्न नसकेको पनि जनाएको छ । समितिले कोषको सम्पत्ति संरक्षण तथा आर्थिक प्रशासन महाशाखाबाट प्राप्त विवरणअनुसार विभिन्न बैंकमा १ अर्ब २९ करोड ३८ लाख ३१ हजार २ सय १५ रुपैयाँ नगद जम्मा भएको जनाएको छ ।

सो रकममध्ये १ अर्ब रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ । अक्षय कोषमा राखिएको रकमको प्राप्त हुने ब्याजबाट केही रकम सामाजिक सेवा एवं विपतका बेला खर्च गरिने नीति लिइने जनाइएको छ ।

यसैबीच, कोषको अचल सम्पत्ति दर्ता प्रमाणित ३ हजार ६ सय ६७ रोपनी जग्गा रहेको समितिले जनाएको छ । त्यस्तै साबिक लगतको दर्ता प्रमाणित हुन बाँकी जग्गा क्षेत्रफल २ सय ३१ रोपनी १० आना १ दाम जग्गा रहेको छ भने त्रिभुवन विमानस्थल र ९९ वर्षको लागि सम्झौता गरी भोगचलनमा दिएको गल्फकोर्ष रहेको जग्गा १ हजार १ सय ६१ रोपनी १४ आना रहेको छ । त्यस्तै मोही तारागाउँ रिजेन्सी होटल भएको जग्गा १७ रोपनी रहेको जनाइएको छ ।


  •  
  •  
  •