पूर्वसचिव ज्ञवाली भन्छन्, ‘प्लास्टिक झोला जनस्वास्थ्यका लागि खतरा’

159
  •  
  •  
  •  

प्रिय मान्यवर एवम् मित्रहरू,
हिजोआज ‘प्लास्टिक प्रतिबन्ध’ सम्बन्धी सार्वजनिक सरोकारको सन्दर्भले खुबै चर्चा पाएको छ । यस सम्बन्धमा पूर्व वातावरण एवम् उद्योग सचिवका नाताले केही कुरा राख्दैछु :

सर्वप्रथम, यो प्रतिबन्ध सबै प्लास्टिकजन्य वस्तुमाथि हैन, केवल प्लास्टिकका झोलामाथि हो । त्यो पनि सारै पातला, ‘रिसाइकलु गर्न नमिल्ने’ अर्थात् ४० माइक्रोन वा सोभन्दा कम मोटाइका र २०×३५ इन्च साइजका झोलामाथि मात्र हो । (हेर्नुहोस् चैत १८, २०७१ को नेपाल राजपत्र)

प्रतिबन्ध अहिले ‘उत्पादन’ र ‘निर्यात’ उपर लगाउने भनिएको छैन, केवल ‘आयात, भण्डारण, बिक्री (वितरण र प्रयोग गर्न’ मा लगाउने भनिएको छ । यसको सोझो अर्थ ‘सक्छौ भने निर्यात गर्ने गरी उत्पादन गर, तर आन्तरिक खपत गर्न, गराउन पाउदैनौ’ भन्ने निस्कन्छ । तर यसको निहितार्थ र यसबाट पर्नसक्ने प्रभावका बारेमा वातावरण मन्त्रालयले बोल्नुपर्छ ।

प्रतिबन्धको निर्णय कार्यान्वयन गर्दा उपभोक्ताहरुलाई विकल्प दिने कुरा अत्यन्त व्यावहारिक हो । तर विकल्पको खोजी उपभोक्ताहरु स्वयमले पनि गर्नुपर्छ र उपभोक्ताको माग भयो भने बजारको सामान्य सिद्धान्तका आधारमा उत्पादकहरुले आपूर्ति गरिदिहाल्नेछन् । त्यो भनेको, ४० माइक्रोन भन्दा मोटा, पुनः प्रयोगयोग्य, अलि बलिया र आकर्षक प्लास्टिक झोलाको प्रयोगलाई अर्को स्थायी, दिगो, उपभोक्तामैत्री र धान्नसकिने विकल्पले बजार नलिउन्जेल प्रोत्साहित गर्नुपर्छ भनेको हो ।

यसका लागि आक्रामक उपभोक्ता सचेतना र तत्सम्बन्धी कानूनी ब्यवस्थाको निर्मम कार्यान्वयन अति जरूरी छ । खास गरी वातावरण विभागले Compliance and Enforcement Monitoring को काम अलि जाँगरिलो, पत्यारिलो र इमानदार ढङ्गले गर्नुपर्ने म देख्दछु ।

जहाँसम्म प्लास्टिक उत्पादक उद्योगी व्यवसायीहरुको गुनासोको सन्दर्भ छ, यसबारे वातावरण मन्त्रालयले उद्योग मन्त्रालय र सम्बन्धित सरोकारवालासँग बसेर छलफल गरी पारस्परिक विश्वासका आधारमा सहमति कायम गर्नपर्छ र सकिन्छ पनि । यसैपनि अहिलेको पुस्ताका शिक्षित उद्योगी व्यवसायीहरू उपभोक्ता हित र जनस्वास्थ्यप्रति सचेत छन् ।

व्यावसायिक सामाजिक उत्तरदायित्व अर्थात् CSR प्रतिको उनीहरुको जागरूकता प्रतिस्पर्धात्मक रूपमा बढ्दो छ । अहिलेको युगमा आम उपभोक्ताको स्वास्थ्य र सार्वजनिक हितको सुरक्षाका लागि सरकारले कानूनबमोजिम दर्ता भै चलिरहेको उद्योग (व्यवसायमाथि त प्रतिबन्ध लगाउन सक्छ भने कुनै खास उत्पादनमाथि रोक लगाउन नसक्ने कुरै छैन र यो कुरा उद्योगीहरुलाई पनि थाहा छ तर उनीहरुले उठाएका तर्कहरुलाई चित्तबुझ्ने ढँगबाट सम्बोधन गरिदिनु भने पर्छ ।

नत्र निर्णय कार्यान्वयनमा अप्ठेरो पर्छ, जस्तो म वातावरण सचिव र हेमराज तातेड् मन्त्री हुदा तीन वर्षअघि पहिलोचोटि २० माइक्रोन सम्मका प्लास्टिकका झोलाउपर यसैगरी लगाइएको प्रतिबन्धको कार्यान्वयनमा परेको थियो । असल नियतले थालिएको एउटा राम्रो कामलाई सफल बनाउनु के हामी सबैको कर्तब्य र दायित्व हैन र ?

कृष्ण ज्ञवाली


  •  
  •  
  •