पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै

243
  •  
  •  
  •  

काठमाडौं २० कात्तिक ।
पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी भ्रमणका लागि शुक्रबार भारत भ्रमण जाँदैछन् । हिन्दू राज्‍यको माग गर्दै विभिन्‍न पक्षबाट आन्दोलन भइरहेका बेला ज्ञानेन्द्र भारत जान लागेका छन् ।

सार्क शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तयारी भइरहेका बेला पूर्वराजा शाह भारत भ्रमणमा निस्कन लागेका हुन् । शुक्रबार दिउँसो इन्डियन एयरलाइन्सको जहाजमार्फत पूर्वराजा शाह भारत जान लागेका हुन् । पूर्वराजा शाहको भ्रमण टोलीमा उनका निजी सचिव सागरराज तिमल्सिना, संवाद सचिव डा. फणिराज पाठक, अंगरक्षक सशस्त्र प्रहरीका डिएस्पी उद्धव रावल र शाही अर्दली हरिशरण थापासहित रहने छन् । पाठकले पूर्वराजाकाे यो निजी भ्रमण रहेको अन्नपूर्णसँग बताए ।

संविधान निर्माणबारे दलहरुबीच जटिलता बढ्दै गएको अवस्थामा पूर्वराजा शाहको भारत भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ । संविधानमा हिन्दू राज्य या धर्मनिरेपेक्ष राज्य राख्ने विषयमा विवाद बढ्दै जाँदा पूर्वराजा शाहले भारतमा रहँदा हिन्दूराज्यको पक्षमा लविङ गर्ने अड्कलबाजी शुरु भएको हो ।

पूर्वराजा शाहसँग उनका केही निकट सहयोगीहरु पनि भारत जाँदैछन् । नेपालमा राप्रपा नेपाल, कांग्रेस नेता खुमबहादुर खड्का र अन्य हिन्दूबादी संगठनले हिन्दू राज्यका लागि एउटै मोर्चाबाट आन्दोलनको तयारी गरिरहेका बेला पूर्वराजा शाहको भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

दुई महिनाअघि हृदयघात भएर आराम गरिरहेका बेला पूर्वराजा शाहको भारत भ्रमण तय भएको हो । स्वास्थ्य जाँच गर्ने भनिएपनि पूर्वराजा शाहले दिल्लीमा बसेर हिन्दूराज्यका पक्षमा भारतीय नेताहरुसँग पहल गर्ने बताइएको छ । अन्नपूर्णपोष्ट


  •  
  •  
  •