ठूलो दुर्घटनाबाट बाँचे पूर्व राजा ज्ञानेन्द्र

58
  •  
  •  
  •  

काठमाडौं ६ असोज ।
हृदयाघातबाट मुटुको एक भाग पूर्ण रूपमा अवरुद्ध भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ । समयमै उपचार भएका कारण उनी ठूलो दुर्घटनाबाट जोगिएको चिकित्सकहरूले जनाएका छन् ।

हृदयाघात भएपछि ६७ वर्षीय पूर्वराजा ज्ञानेन्द्रलाई शनिबार राति १० बजे अस्पताल पुर्‍याइएको थियो । स्वास्थ्यमा सुधार आउँदै गएपछि उनलाई सोमबारसम्म डिस्चार्ज गर्न सकिने चिकित्सकहरूले बताएका छन् ।

नर्भिकका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भारत रावतको टोलीले पूर्वराजा ज्ञानेन्द्रको एन्जिओग्राफी, एन्जिओप्लास्टी र मुटुमा इस्टेन लगाउने काम गरेको छ । समयमै उपचार हुँदा ठूलो दुर्घटना टरेको डा. रावतले बताए । ‘उहाँहरूले दिउँसैबाट चिकित्सकसँग परामर्श लिनुभएको थियो, त्यसले पनि ठूलो राहत भयो, उहाँ ठूलो दुर्घटनाबाट बच्नुभयो,’ उनले नयाँ पत्रिकासँग भने, ‘अब उहाँले आफ्नो आनीबानीमा सुधार गर्नुपर्छ ।’

डा. रावतको टोलीले गरेको कोरोनरी एन्जिओग्राफीबाट पूर्वराजा ज्ञानेन्द्रको मुटुको एक भाग पूर्ण रूपमा अवरुद्ध भएको पत्ता लागेको थियो । ‘त्यसपछि तत्कालै एन्जिओप्लास्टी गर्‍यौँ, ती दुवै काम हस्पिटल ल्याएको एक घन्टाभित्र सक्यौँ,’ डा. रावतले भने ।

चिकित्सकहरूका अनुसार हृदयरोगका बिरामीहरूको उपचारमा जति ढिलो गर्‍यो, मुटुमा त्यति बढी क्षति हुँदै जान्छ । सामान्यतया मुटुमा ३० प्रतिशतभन्दा बढी क्षति भयो भने त्यसलाई गम्भीर मानिन्छ । ‘उहाँको (पूर्वराजा) मुटुमा १० प्रतिशतभन्दा कम मात्रै क्षति भएको रहेछ, समयमै लक्षण थाहा पाउँदा चिकित्सकहरूको सल्लाह लिएर उहाँ ठूलो दुर्घटनाबाट बच्नुभयो’ डा. रावतले भने ।

स्रोतका अनुसार पूर्वराजा शाह पारिवारिक तनावमा छन् । विशेषगरी छोरा पारसको गतिविधि देखेर उनी बढी चिन्तित देखिने गरेका थिए ।

चिकित्सकहरूका अनुसार पूर्वराजा ज्ञानेन्द्रले लामो समयदेखि उच्च रक्तचापको औषधि खाइरहेका छन् । सँगसँगै मध्यपान र धुम्रपानको मात्रा पनि बढाउँदै गएको स्रोतले जनाएको छ । उच्च रक्तचापका बिरामीले कम गर्नुपर्ने नुन पनि चर्को खाने बानी उनको थियो ।

उपचारमा संलग्न अर्का चिकित्सक डा. यादवदेव भट्टले शाह परिवारमा रक्तचापको वंशाणुगत समस्या भएकाले पनि हृदयाघात भएको हुनसक्ने बताए । केही वर्षअघि छोरा पारसको समेत उपचार गरेका डा. भट्टले बाबु ज्ञानेन्द्रको समस्या पनि उस्तै खालको भएको बताए ।

हृदयाघातबाट तीन पुस्ता पीडित
पूर्वराजपरिवारमा हृदयाघात वंशाणुगत रोगजस्तै बनेको छ । राजा महेन्द्रको तीन पुस्तालाई हृदयाघातले पिरोलेको छ ।

राजा महेन्द्रको हृदयाघातबाटै ०२८ मा मृत्यु भएको थियो भने उनका माइला छोरा पूर्वराजा ज्ञानेन्द्र हृदयाघातकै कारण शनिबारदेखि अस्पतालमा छन् । उनका छोरा पूर्वयुवराज पारसमा यसअघि नै हृदयाघात देखिएको थियो । पारसलाई पटक–पटक मुटुरोगको समस्या बल्झिने गर्छ ।

स्रोतका अनुसार निजी डाक्टर र नातेदारहरूले ज्ञानेन्द्रलाई मुटुको समस्याबारे सचेत रहन पटक–पटक आग्रह गर्ने गरेका थिए । खानपानमा ख्याल गर्न उनीहरूले सुझाएका थिए । यसअघि पूर्वयुवराज पारसलाई मुटुको समस्या देखिएपछि नर्भिक अस्पतालमै उपचार गरिएको थियो ।

निकै खटिन् हिमानी
ससुरा ज्ञानेन्द्रको स्याहारसुसार र रेखदेखमा पूर्वयुवराज्ञी हिमानी निकै खटिइन् । अस्पतालमा उनको सक्रियता देखेर सर्वसाधारणले उनको प्रशंसा गरिरहेका थिए ।

निर्मलनिवास स्रोत भन्छ, ‘निजी चिकित्सकलाई बोलाउने, नातेदारहरूलाई खबर गर्ने काममा दिनभर आफैँ खटिइन् । चिकित्सकको सल्लाहमा के गर्ने, कसो गर्ने ? अस्पताल लैजानुपर्ने–नपर्ने आदि विषयमा चिकित्सकहरूसँग सल्लाह लिने काममा व्यस्त बनिन् ।’

आइतबार दिनभरिमा उनले कम्तीमा चारपटक नर्भिक अस्पताल ओहोरदोहोर गरिन् । बिरामी ज्ञानेन्द्र तथा अन्य परिवारका सदस्यका लागि लागि खाना ल्याउनेदेखि ज्ञानेन्द्रका लागि फेर्ने लुगा ल्याउनेसम्मका काममा उनी नै खटिएकी देखिन्थिन् ।

उनको अनुहारमा आत्तिएको भाव कत्ति पनि देखिँदैनथ्यो । अस्पतालमा उपस्थित शुभचिन्तकको नमस्कार फर्काउने मात्रै होइन, उनीहरूले सोधेका प्रश्नहरूको जवाफ पनि फर्काइरहेकी थिइन् । ‘बुबाको स्वास्थ्य अवस्था अहिले ठीक छ,’ शुभचिन्तकहरूको जिज्ञासामा उनी भन्दै थिइन् ।

पूर्वराजा बिरामी परेको खबर पाउनासाथ शाही परिवारका आफन्तहरू निर्मलनिवास पुगेका थिए । छोरी प्रेरणा, ज्वाइँ राजबहादुर, धीरेन्द्रका छोरी–ज्वाइँ, शाही नातेदार डा. राजीव शाहीलगायतका आफन्त निर्मलनिवास पुगेका थिए ।

‘ज्ञानेन्द्रको साथमा पूर्वरानी कोमल, बुहारी हिमानी, नाति–नातिना र आफन्तहरू आएका थिए,’ अस्पताल स्रोतले भन्यो । ज्ञानेन्द्रकी मुमा रत्न भने आइतबार बेलुकी साढे ६ बजे मात्रै अस्पताल पुगेकी थिइन् ।

हृदयाघात भई पूर्वराजा अस्पताल भर्ना भएको समाचार सार्वजनिक भएपछि आइतबार बिहानैबाट नर्भिक परिसर पूर्वराजाका समर्थक र आफन्तहरूले भरिएको थियो । स्वास्थ्यलाभको कामनाका लागि नर्भिक परिसरमा राखिएको पुस्तिकामा आइतबार मात्रै तीन हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् ।

भेट्न को–को आए ?
पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराई अस्पताल पुगेका थिए । दिउँसो साढे एक बजे अस्पताल पुगेका भट्टराई भिभिआइपी कोठामा छिरेको सात मिनेटमै फर्केका थिए । ‘पूर्वराजा ज्ञानेन्द्र शाहको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले परिसरमा राखिएको पुस्तिकामा लेखेका थिए ।

त्यस्तै, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कीर्तिनिधि विष्ट, पूर्वमन्त्री रमेशनाथ पाण्डे, पूर्वप्रधानसेनापतिहरू प्रज्ज्वलशमशेर जबरा, प्याराजंग थापा, रुकमांगत कटवाल तथा पूर्वआइजिपी हेमबहादुर मल्ललगायत पनि अस्पताल पुगेका थिए ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •