‘बिक्रीमा’ राहदानी र नागरिकता

101
  •  
  •  
  •  

काठमाडौं १५ भदौ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा हिन्दूधर्मको प्रचार गरिरहेका दुई बंगलादेशीसँग नेपाली नागरिकता भेटिएपछि सुरक्षा अधिकारीहरू झस्किएका छन् । १९ साउनमा प्रहरीले विशेष सुराकीका आधारमा हसाइम इस्लाम र रियल मियाँसँग नेपाली नागरिकता भेटेको हो ।

पशुपति मन्दिरबाट पक्राउ परेका बंगलादेशी नागरिक इस्लाम र मियाँले बाँकेको कटरकुइया गाविस–४ बाट नेपाली नागरिकता लिएका थिए । इस्लामले जाहिर अली साई र मियाँले अगिा अली साईको नाममा नागरिकता लिएका हुन् ।

नेपाल प्रहरीको विशेष ब्युरोले उनीहरूको पृष्ठभूमि अनुसन्धान गरिरहेको छ । नेपाली नागरिकता लिनुको उद्देश्य शंकास्पद भएको, तर खुल्न नसकेकाले उनीहरूमाथि अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।

गत वैशाखामा पक्राउ परेका बर्मेली नागरिक शंकरप्रसाद गुरागाईं तथा भारतीय नागरिक सुरेश अधिकारीसँग नेपाली नागरिकता भेटिएको थियो । भारतमा आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूले झापा जिल्ला प्रशासनबाट नेपाली नागरिकता लिएका थिए । गुरागार्इंले झापाको बनियानी–४ बाट तथा भारतको मणिपुर सेनापती घर भएका अधिकारीले सतासीधाम–९ बाट नेपाली नागरिकता लिएका हुन् ।

गुरागार्इं र अधिकारीकै गिरोहका आठजनासँग पनि नेपाली नागरिकता भेटिएको थियो । गिरोहका जितबहादुर चौधरी, राजेश थापा, कुमार चौहान, कर्णजित रोकाया, राजेश भट्टराई र उनकी श्रीमती सीता भट्टराईसँग नेपाली नागरिक रहेको अनुसन्धानमा खुलेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दशजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गुरागाईं र अधिकारीबाहेक सबै फरार छन् । उनीहरू सबै भारतीय नागरिक भए पनि झुटा विवरणका आधारमा नेपाली नागरिकता लिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक चूडामणि शर्माले बताए । कुमार चौहानले झापाको अनारमनी–३ बाट, कर्णजित रोकायाले जुम्लाको वाम्ली ६ बाट, राजेश भट्टराईले पाल्पाको भैरवस्थान–५ बाट, सीता भट्टराईले झापाको धुलाबारीबाट नेपाली नागरिकता लिएका हुन् । उनीहरूले कसरी नागरिकता लिए भन्नेबारे अनुसन्धान गर्न विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको छ ।

उनीहरू भारतमा आतंकवादी गतिविधिमा संलग्न प्रिपाक, युपिपिके, केसिपीजस्ता समूहमा आबद्ध थिए । सो समूहले कमाएको पैसा नेपालमा ल्याएर सम्पत्ति शुद्धीकरणको उद्देश्यले व्यवसायमा लगानी गरेको सूचनाका आधारमा गुरागाईं र अधिकारी पक्राउ परेका थिए ।

गत जेठमै नेपाली एमआरपी लिएकी तिब्बती युवती पक्राउ परेकी थिइन् । एक लाख रुपैयाँ खर्च गरेर ०७३५५०२७ नम्बरको एमआरपी लिएकी डेचेन याङताई चीन उड्नसमेत सफल भएकी थिइन् । तर, चिनियाँ अध्यागमनका कर्मचारीले शंकास्पद लागेर नेपाल फर्काएपछि मात्र याङताईले नेपाली पासपोर्ट बनाएको खुलेको थियो ।

रसुवाको ठेगानामा सीता तामाङको नागरिकता बनाएर आफ्नो फोटो टाँसेर याङताईले नेपाली पासपोर्ट बनाएकी हुन् । पासपोर्टको फर्म भर्दा नै उनले तामाङको नाममा आफ्नो फोटो टाँसेकी थिइन् । अनुसन्धान गर्दा सीता तामाङ नाम गरेको व्यक्ति नै नभएको खुलेको छ ।

अध्यागमन विभाग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा एक गिरोहले गत आर्थिक वर्षमा पाँच सयभन्दा बढी पासपोर्ट बिक्री गरिसकेको खुलेको छ । यसमा परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागकै एक कर्मचारीको मिलेमतो रहेको खुलेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले बताएका छन् । करारमा नियुक्त भएका ती कर्मचारी हाल फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हस्तलिखित पासपोर्ट खुलमखुला अझै पनि बिक्री भइरहेको छ । ती पासपोर्टमा भारतीय तथा बंगलादेशी कामदार खाडी देशमा उड्ने गरेका छन् । यसरी अर्काको पासपोर्टमा विदेश उड्ने करिब एक हजार पाँच सयजनालाई अध्यागमन विभागले गत वर्ष पक्राउ गरेको थियो । तीमध्ये एक सयभन्दा बढी भारतीय युवती नेपाली पासपोर्टमा खाडी मुलुक गएका थिए ।
नयाँपत्रिका


  •  
  •  
  •