काठमाडौ १७ कात्तिक (ओएनएस): केन्द्रीय राहदानी विभागले सोमवारदेखि दुई सत्रमा गरी सेवा दिन सुरु गरेको छ ।
प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा विभागले सेवाग्राहीलाई दुई सत्रमा सेवा दिन लागेको हो ।
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ विभागले हरेक दिन बिहान सात बजेदेखि १२।३० सम्म टोकन वितरण गर्ने र सो दिन टोकन पाउनेलाई सोही दिन सेवा दिने भएको छ ।
विभागले दैनिक करिब ४ हजार जनालाई सेवा प्रदान गर्दै आएको छ । हाल सामान्य अवस्थामा रु पाँच हजारमा र तत्कालका लागि रु १० हजारमा राहदानी पाउन सक्ने व्यवस्था छ । सन् २०१० डिसेम्बर २६ देखि यन्त्रले पढ्ने राहदानी (एमआरपी) वितरण सुरु गरेकामा २०१४ को सेप्टेम्बरसम्म २४ लाख ४२ हजार नेपालीले यस्तो राहदानी प्राप्त गरिसकेका छन् ।
हाल दैनिक पाँच हजार राहदानी तयार गर्न सक्ने विभागको क्षमता छ । तर जनशक्ति तथा स्रोतसाधनको अभावमा प्रभावकारी काम हुन नसकेको भन्दै प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका संयोजक कृष्णहरि बाँस्कोटाले तत्काल समस्या समाधान गर्न निर्देशन दिए ।
संयोजक बाँस्कोटाले राहदानी लिन नागरिकता, तस्बिर, फारम, पुरानो राहदानी र जिल्ला प्रशासन कार्यालयको सिफारिस चाहिने वर्तमान स्थितिलाई सरलीकरण गरी एकद्वार पद्धति लागू गर्नसमेत जोड दिएका थिए ।
सोमवारदेखि हरेक दिन बिहान सात बजेदेखि साँझ ६।३० बजेसम्म राहदानी वितरणको काम दुई सत्रमा सञ्चालन हुने र सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरिने विभागको भनाइ छ ।