उपराष्ट्रपतिमा आज पासाङ र यादवको भीडन्त

271
  •  
  •  
  •  

amiya kumar yadav nanda kishor punकाठमाडौँ, १४ कात्तिक(ओएनएस) : उपराष्ट्रपति चयनका लागि आज शनिबार हुने गोप्य मतदानमा सत्तारूढ दलका साझा उम्मेदवार नन्दकिशोर पुन पासाङ र नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवबीच प्रतिष्पर्धा हुने भएको छ ।

नेपालको दोस्रो उपराष्ट्रपति पदमा तत्कालिन विद्रोही माओवादी लडाकु कमाण्डर नन्दबहादुर पुन विजय हुने सम्भावना बलियो भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पुनको पक्षमा ब्यवस्थापिका संसदमा सहज बहुमतको स्थिति छ ।

विहान ११ देखि अपरान्ह २ सम्म हुने मतदानको परिणाम साँझ ५ बजेको संसद बैठकमा घोषणा हुनेछ । उपराष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृत तोकिएका संसदका महासचिव मनोहरप्रसाद भट्टराईले मतदानको सम्पूर्ण तयारी गराएका छन् ।

शुक्रबार उपराष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने क्रममा पासाङ र यादवसहित अन्य दूइको उम्मेदवारी परेको थियो । नेपाल परिवार दलका दयाराम कँडेल र स्वतन्त्र सांसद अतहर कमाल मुसलमान उपराष्ट्रपति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएपछि भने उपराष्ट्रपतिका लागि पासाङ र यादवको भीडन्त हुने निश्चित भएको हो ।

परिवार दलका कँडेलले सत्तारूढ दलका नेताहरूको आग्रहमा उम्मेदवारी फिर्ता लिएका हुन् भने स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले आफ्नो सम्भावना कम रहेको र कांग्रेस उम्मेदवार मधेसको भएको भन्दै कांग्रेसका उम्मेदवार यादवलाई समर्थन गर्नेगरी उम्मेदवारी फिर्ता लिएका हुन् ।

चुनावी मैदानमा पासाङ र यादवको भीडन्त हुने भएपछि पासाङ उपराष्ट्रपति बन्ने लगभग पक्का भएको छ । पासाङलाई एमाले, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक लगायतका दलको समर्थन भएका कारण उनले बहुमत पाउने निश्चित:प्राय छ ।

पासाङको उम्मेदवारी विवादकाबीच दर्ता गरिएको थियो । मधेसी मुलको नभएको भन्दै साना दलहरूले पासाङलाई उम्मेदवार बनाउन नहुने बताइरहेका थिए‍ भने सेनाले पनि युद्धकालका कमाण्डर भएकाले उनलाई उम्मेदवार नबनाउन आग्रह गरेको थियो ।


  •  
  •  
  •