पार्टीभित्रको गुट उपगुट छिट्टै अन्त्य हुन्छ : सभापति देउवा

383
  •  
  •  
  •  

महेन्द्रनगर, ३ वैशाख(ओएनएस) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्धत भएर लागि परेको बताएका छन् ।

फाइल तस्बिर

मंगलबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले पार्टीको केन्द्रीय अनुशासन समितिले यस सम्बन्धमा काम शुरु गरिसकेको बताए ।  उनले भने, ‘प्रक्रिया अनुसार कारबाही हुनेछ । पार्टीमा गुट उपगुट पनि अनुशासन समितिको काम कारवाही पछि अन्त्य हुन्छ ।’

पूर्व प्रधानमन्त्री रहेका सभापति देउवाले वर्तमान सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको दाबी गरे । सरकार काम गर्नुभन्दा हरेक क्षेत्रमा हस्तक्षेप मात्र गरिहेको उनको आरोप छ ।

देउवाले आफ्नो पार्टी प्रजातान्त्रिक पार्टी भएकोले गुट उपगुट देखिएको हुन सक्ने उल्लेख गर्दै कम्युनिष्ट पार्टीमा समेत गुट उपगुट देखा परेको बताए ।

सरकारले प्राज्ञिक क्षेत्रदेखि प्रेससम्म जताततै अनावश्यक हस्तक्षेप गरी लोकतन्त्रको मर्म विपरित काम गरिरहेको आरोप लगाए ।  देउवाले नेत्रविक्रम चन्दसँग सरकारले द्वन्द्व र विवाद चर्काउनु भन्दा वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।


  •  
  •  
  •