नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता देवकोटा माओवादी केन्द्रमा प्रवेश

386
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँशक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटालाई पार्टी प्रवेश गराएका छन्।

पार्टी मुख्यालय पेरिसडांडामा बुधबार आयोजित पार्टी प्रवेश समारोहमा पूर्व माओवादी नेता समेत रहेका देवकोटा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताए ।

स्थायित्व, समृद्धि र विकासको जनताको चाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान सुरु भएको उनले बताए। अध्यक्षले प्रचण्डले भने, ‘समाजवादमा जाने हो भने सवै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली सक्कली बनेर हुँदैन, ‘भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई समेत पार्टीमा फर्किन आव्हान गरेका छन् । अध्यक्ष प्रचण्डले भने, ‘रेलको डिब्बा छाडेर इन्जिन मात्रै हिँडेर हुँदैन, मालसामान छाडेर इन्जिन मात्रै कुदेर के हुन्छ ? जनता, कार्यकर्ता, आफ्नै रगत र पसिनाका उपलब्धि छाडेर हिँडे मनोगत बाहेक केही हुँदैन । अप्ठ्यारो र लाज नमानी पार्टीमा फर्किनुस्।’

अध्यक्ष प्रचण्डले देशमा कम्यूनिस्ट र दक्षिणपन्थीबीच ठूलो ध्रुवीकरण भइरहेको बताउदैँ अध्यक्ष प्रचण्डले समृद्ध नेपाल निर्माणको लडाइमा केन्द्रीत हुन सबैमा आव्हान गरे’ पार्टी एकताको पक्षमा बिभिन्न किसिमले तर्क बितर्क भइरहेको सन्दर्भ चर्चा गर्दै अध्यक्ष प्रचण्डले जनताले एकताको पक्षमा आदेश दिएको बताए । “पार्टी एकताका बारेमा तर्क गर्न खोज्दा के भनौ, के भनौ भयो भने, जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला । यो अवसरवादी तर्क होइन, सही तर्क हो ।’

उक्त अवसरमा पार्टी प्रवेश गरेका नयाँशक्तिका प्रवक्ता तथा नेता देवकोटाले बाबुरामजीको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गरे।


  •  
  •  
  •