सीमांकनको विषयमा दलहरू सहमति नजिक, नवलपरासी टुक्रिने

107
  •  
  •  
  •  

काठमाडौ, २२ साउन(ओएनएस) : सीमांकनको विषयमा दलहरू सहमतिको नजिक पुगेका छन् । ६ प्रदेशमा सहमति भएपनि सीमांकनका विषयमा सहमति जुट्न नसकेपछि गम्भिर छलफलमा रहेका दलहरू सहमति नजिक पुगेका हुन् ।

दलहरूबीच बिहिबार राती अबेरसम्म भएको छलफल र आज भइरहेको छलफलका क्रममा दलहरू सहमति नजिक पुगेको स्रोतको दावी छ । आज बेलुकासम्म सबै टुङग्याएर भोलीमात्र संविधानसभाको बैठक बस्ने तयारी दलहरुले गरेका छन् । संविधानसभा सचिवालयले सूचना टाँस गरी आज बस्ने भनिएको बैठक शनिबार ३ बजेका लागि बोलाइएको जनाइएको छ ।

आज बस्ने भनिएको संविधानसभाको बैठक स्थगित हुने भएको एक नेताले जानकारी दिए । संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले सभाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाएपछि संविधानसभाको बैठकमा समितिका सभापति बाबुराम भट्टराईले पेश गर्नेछन् ।

दलहरूबीच भएको सहमति अनुसार पूर्वाञ्चललाई यथावत् राखिने छ भने सप्तरीदेखी पर्साको भू-भागलाई दोस्रो प्रदेशमा समेटिने छ ।

भारतसँगको पहुँच जोड्नका लागि गोरखादेखि प्युठानसम्मको प्रदेशमा नवलपरासीको दाउन्नेलाई जोड्ने सहमति अन्तिम चरणमा पुगेको एक नेताले बताए । उनका अनुसार सीमांकनका क्रममा नवलपरासी मात्र टुक्रिने भएको छ । यस्तै, अन्य प्रदेशहरूमा पहिलेको सहमतिलाई कायम राखेर अगाडि बढ्ने सहमति भएको ती नेताले जनाए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सिराहा र सप्तरीलाई पूर्वको प्रदेशमा राख्ने र मकवानपुर र सिन्धुलीलाई दोस्रो प्रदेशमा राख्ने प्रस्ताव गरेपनि अन्य दलले स्विकार नगर्दा एमाले पछाडि सरेको छ ।

दलहरूबीच सहमति भए यस्तो हुनेछ अबको ६ प्रदेशको नेपाल ?

प्रदेश १
झापा, मोरङ, सुनसरीसहित पूर्वका पहाडी जिल्ला
प्रदेश २
सप्तरीदेखि पर्सासम्म
प्रदेश ३
रामेछाप, दोलखा, काभ्रे, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवनसम्म
प्रदेश ४
पश्चिम नवलपरासीदेखि बर्दियासम्म
प्रदेश ५
गोरखादेखि नवलपरासीको पूर्वी भाग दाउन्नेसम्म
प्रदेश ६
कैलाली, कन्चनपुर, सल्यानदेखि माथि कर्णालीसहित


  •  
  •  
  •