दलहरूबीच ८ प्रदेशमा ‘सहमति’

123
  •  
  •  
  •  

फाइल फोटो
फाइल फोटो

काठमाडौ, २५ जेठ(ओएनएस) : लामो समयदेखी विवादित बनेको राज्य पुनःसरंचनाको विषयमा दलहरू सहमत भएका छन् । दलहरूबीच आज बसेको बैठकमा ८ प्रदेशमा सहमति जनाएका छन् ।

आठ प्रदेश कायम गर्ने सैद्धान्तिक सहमति भएपनि प्रदेशको नाम र सीमा भने तोकिएको छैन । प्रदेशको नामाङ्कनको जिम्मा प्रदेश सभालाई र सीमाङ्कनको जिम्मा विज्ञहरूको टोलीसहितको आयोगलाई दिने सहमति भएको एमाले नेता भीम रावलले बताएका छन् । उनले भने, ‘दलहरूबीच ८ प्रदेशमा सहमति भएको छ । ५ बजे बस्ने बैठकमा दलहरूले लिखित सहमति जनाउने छन् ।’

दलहरूको सहमति अनुसार सहमति गर्ने अन्तिम दिनमा सहमति कायम भएको हो । दलहरूबीच बसेको बैठक सहमतिसँगै आज बेलुका ५ बजेसम्मका लागि स्थगित गरिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायतका नेताहरू सहभागी थिए ।

एमाओवादीले ८ प्रदेश भए नाम र सिमाङ्कन पछि गर्दा पनि हुने तर ६ प्रदेश भए नाम र सिमाङ्कन अहिले नै गर्नुपर्ने अडान राख्दै आएको थियो । यता एमालेले ६ प्रदेशको अडानलाई छाड्दै ८ प्रदेशमा सहमति जनाएको छ । नाम र सिमाङ्कनलाई पनि पछि गर्न तयार भएको हो ।


  •  
  •  
  •