संसद सचिबालयको क्यान्टिनमा ‘ठोस’ दाल

563
  •  
  •  
  •  

मदन कोइराला
काठमाडौं २३ जेठ (ओएनएस) । व्यवस्थापिका संसद सचिवालयको चमेना गृहमा तालाबन्दी गरिएको छ । चमेना गृहले बासी, सडेगलेको, अखाद्य वस्तु मिसावट भएको तथा मिति नाघेको खाना खुवाएको भन्दै व्यवस्थापिका संसद सचिवालय कर्मचारी युनियका अध्यक्ष संजय दाहालको नेतृत्वमा सचिवालयको चमेना गृहमा तालाबन्दी गरिएको हो । चमेना गृहको लापरवाहीले सिमा नाघेको भन्दै केहीदिन अगाडि संसद सचिवालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई गुणस्तर जाँचकालागि मौखिक अनुरोध गरेको थियो ।

सचिवालयको अनुरोधमा शुक्रवार विभागबाट अधिकृत मोहनकृष्ण ओझासहित दुई जनाको टोलीले चमेना गृहमा रहेका खाद्यपदार्थको गुणस्तर जाँच गर्ने क्रममा खाद्य पदार्थमा अखाद्य बस्तुको मिसावट गरेको, म्याद नाघेका खाद्य पदार्थ प्रयोग गरिएको तथ्य बाहिर आएपछि व्यवस्थापिका संसद कर्मचारी युनियनका अध्यक्ष दाहालको नेतृत्वमा तालाबन्दी गरिएको हो । विभागका कर्मचारीले भने क्यान्टिन संचालकलाई तीन दिनभित्र सुधार गर्नभन्दै नौ बुँदे लिखित निर्देशन दिएको छ । विभागले दिएको निर्देशन काम नलाग्ने भन्दै कर्मचारी युनियनले तालाबन्दी नै गरेको हो ।

यसरी भयो घटना
संविधानसभा अन्र्तगत संवैधानिक राजनीतिक संवाद तथा सहहमति समिति शुक्रवार बसेको बैठकपछि खाने क्रममा मासु गन्हाएको भन्दै सभासदले कुरा उठाएका थिए । सभासदहरूले जहिले पनि अखाद्य बस्तु खुवाएको भन्दै समितिका सभापति डा. बाबुराम भट्टराईसमक्ष गुनासो गरेका थिए । समासदले गुनासो गरेपछि डा. भट्टराईले समितिका सचिव मुकुन्द शर्मालाई त्यस विषयमा जानकारी गराएका थिए ।

यसअघि नै सचिवालयले खाना गुणस्तरीय नभएको, फोहोर भएकोलगायतका कारण देखाएर सात दिने स्पष्टिकरण सोधिसकेको थियो । गत २२ गते सचिवालयले ७ दिनको समय दिएर क्यान्टिन सुधार गर्न भनेको थियो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागको टोलीले पनि शुक्रवार क्यान्टिनको जाँच गरेपछि तीन दिनको सयम दिएर सुधार गर्ने अवसर दिएको छ । तर, संसद सचिवालयका कर्मचारीले भने सुधार गर्ने मौका दिनुको कुनै औचित्य नभएको भन्दै क्यान्टिनमा तालाबन्दी नै गरिदिए । कर्मचारी युनियनका अध्यक्ष शंजय दाहालले क्यान्टिन संचालकलाई यसअघि पनि धेरैपटक सुधारको मौका दिए पनि कुनै सुधार नगरेकाले तालाबन्दी गर्नुपरेको बताए । ‘कतिपटक सुधारको मौका दिने’, दाहालले ओएनएससँग भने, ‘सुधारको मौका भनेको त सुधार गर्नेलाई दिने हो । मौकालाई प्रयोग गर्न नसक्नेलाई के को मौका ?’

युनियन र कर्मचारीबीच नै मतभेद
संसद सचिवालय आन्तरिक सेवा शाखाका कर्मचारी भने क्यान्टिन बन्दै गर्नुपर्छ भन्ने पक्षमा थिएनन् । उनीहरू तालाबन्दी नै समस्याको समाधान नभएको उनीहरूको तर्क थियो । तर, कर्मचारी युनियनका अध्यक्ष संजय दाहालले भने क्यान्टिन संचालकले सुधार गर्न कुनै चासो नदिएको भन्दै तालाबन्दी नै सही समाधान भएको भन्दै तालाबन्दी गरे ।

आन्तरिक सेवा शाखाका अधिकृत मदन पोखरेलले सचिवालयले क्यान्टिन संचालकलाई सात दिनको समय दिएर स्पष्टीकरण सोधेको र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि सोही प्रकृतिको पत्र दिएकाले चित्त बुझ्दो जवाफ नआए स्वतः क्यान्टिन बन्द गर्न सकिने भए पनि युनियनले गरेको तालाबन्दीले तत्काल क्यान्टिन बन्द गर्ने बाटो बन्द भएको प्रतिक्रिया दिए । ‘हामी सबैको चाहना अहिलेको क्यान्टिन फेरिनुपर्छ भन्ने हो’, पोखरेलले भने, ‘तालाबन्दी गर्नेकामले क्यान्टिन संचालकलाई थप मौका प्रदान गरेको छ ।’ सचिवालय र विभागका कर्मचारीले क्यान्टिन संचालकलाई सुधार गर्ने मौका दिएका छन् । तर युनियनले गरेको तालाबन्दीले उसलाई सुधार गर्ने मौका मिल्दैन भन्ने आन्तरिक सेवा शाखाका कर्मचारीको भनाई छ ।

जब्बर संचालक
क्यान्टिन संचालक झापाका विनोद सरबरिया हुन् । उनले टेण्डरमार्फत व्यवस्थापिका संसद सचिवालयको क्यान्टिन संचालन गरेका हुन् । तर, उनले टेण्डर परेपछि निकै कममात्र उनी सिंहदरवार छिर्छन् । सचिवालयले बोलाएका बेला पनि उपस्थित हुँदैनन् । क्यान्टिन अव्यस्थित भएको चर्चा सबत्र चर्चा चल्न थालेपछि सभासद छायाँ पन्त शर्माले आफ्नो व्यवस्थापन संकायको कलेज रहेको र क्यान्टिनमा काम गर्ने कर्मचारीलाई आफ्नो कलेजमा होटल म्यानेजमेन्ट सम्बन्धी तालिम दिने प्रस्ताव नै राखेकी थिइन् । तर क्यान्टिन संचालक सरवरीयाले कुनै चासो नै नदेखाएको कर्मचारीहरू बताउँछन् ।

संचालक सरबरीयाको सिंदरबार, संविधानसभा भवन नयाँ बानेश्वर र स्टाफ कलेज जाउलाखेलमा क्यान्टिन छन् । तीन वटै ठाउँमा समस्या भने समान रहेको कर्मचारीहरूको भनाई छ ।

नयाँ समस्या
कर्मचारी युनियनका अध्यक्षको नेतृत्वमा क्यान्टिनमा तालाबन्दी गरेपछि समस्या उत्पन्न हुने देखिएको छ । राष्ट्रका वरिष्ठ व्यक्तिले खाना खाने ठाउँमा अखाद्य बस्तुको मिसावट, वासी, सडेगलेको खानेकुरा मिसाएको भन्दै तालाबन्दी गरेपछि दिनहँुजसो विहानै बस्ने समितिका बैठकमा खाजा र त्यसपछि खाना खुवाउने व्यवस्था गर्न सचिवालयलाई समस्या हुने देखिन्छ । आइतवार मात्रै पाँचवटा समितिका बैठक छन् । ‘त्यो दिन करिब एक हजार मानिसलाई खाना र खाजा खुवाउनुपर्छ’, एक कर्मचारीले भने, ‘अब तत्काल त्यसको बैकल्पिक व्यावस्था गर्नुपर्ने भयो ।’


  •  
  •  
  •