हिम परिहोबारे सरकारको ध्यानाकर्षण

82
  •  
  •  
  •  

काठमाडौँ, ३० असोज (ओएनएस) व्यवस्थापिका–संसद् बैठकमा सभासदहरुले यही मंगलवार र बुधवार मनाङ, म्याग्दी र मुस्ताङ जिल्लामा हिमपात भई विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकहरुको मृत्यु तथा बेपत्ता भएकाले तत्काल खोज तथा उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस सभासद रोमी गौचन थकालीले मनाङ, म्याग्दी र मुस्ताङ जिल्लामा परेको हिमपातमा परी अकाल मृत्यु भएका तथा हराइरहेकाहरुको तत्काल प्राथमिकताका साथ खोज तथा उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।

सभासद वीरबहादुर बलायरले सरकारले मौसमबारे पूर्व जानकारी पर्यटकलाई नदिएका कारण हिमपहिरोमा मानवीय क्षति भएको भन्दै अन्नपूर्ण पदमार्गमा मौसमबारे जानकारी दिन सूचना केन्द्र राख्न सुझाव दिए ।

एमाले सभासद श्रीमाया थकालीले हिमपातमा परी मृत्यु भएका तथा हराइरहेकाको खोज तथा उद्धारमा सरकारले प्राथमिकता दिन माग गर्दै यसबाट पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकारको ध्यानाकर्षण गराइन् ।

एमाओवादी सभासद हितराज पाण्डेले सरकारले हिमाली क्षेत्रमा पदमार्गमा जाने पर्यटकलाई मौसमबारे पूर्व जानकारी नदिएका कारण हालै परेको हिमपहिरोमा परी अकालमा उनीहरुको मृत्यु भएको बताए ।


  •  
  •  
  •