धाँदली छानविन गर्न संसदीय समिति गठन

314
  •  
  •  
  •  

काठमाडौं, १३ जेठ (ओएनएस) : वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ ।

शनिबार बसेको व्यवस्थापिका संसदको दोस्रो बैठकले पाँच सदस्यीय स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानबिन विशेष समिति गठन गरेको हो । समितिले तीन महिनाभित्र स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गरी सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्ने भनिएको छ ।

छानबिन समितिमा नेपाली कांग्रेसबाट सांसद अर्जुनप्रसाद जोशी, नेकपा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रबाट रामनारायण बिडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भाष्कर भद्रा र नेपाल लोकतान्त्रिक पार्टीबाट डा. सुबोधकुमार पोखरेल सदस्य रहेका छन् ।

आजै प्रमुख तीन दलबीच छानबिन समिति गठन गर्ने सहमति भएको हो । संसदको अवरोध हटाउने क्रममा प्रमुख दलहरुबीच छानबिन समिति गठन गर्ने, प्रधानन्यायाधीशविरुद्धको महाभियोग फिर्ता लिनेलगायतका विषयमा सहमति भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा धाँधली भएको भन्दै छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने, महाभियोग फिर्ता लिनुपर्ने, स्थानीय तह थप गर्ने सरकारको निर्णय फिर्ता लिनुपर्ने लगायतका माग गर्दै आएको थियो ।
सहमति अनुसार एमालेले पनि संसदको अवरोध हर्टाएको छ ।


  •  
  •  
  •