काठमाडौँ, ३ चैत्र(ओऐनएस) : व्यवस्थापिका संसद सञ्चालनका लागि आवश्यक नियमावलीका सम्बन्धमा छलफल गर्न आज संसदीय नियमावली मस्यौदा समितिको बैठक बस्दै छ ।
आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकले नियमावलीलाई अन्तिम रुप दिने प्रयास गरिने छ । संसदीय सुनुवाई समितिको गठनका लागि भएको विवाद टुङग्याउने सम्बन्धमा छलफल हुने बताइएको छ । सुनुवाई समितिको सदस्य संख्याका सम्बन्धमा नेपाली कांग्रेस र सरकार समर्थित दलहरुबीच कुरा नमिलेपछि संसदीय नियमावली निर्माण अड्किएको छ ।
एमाले र एमाओवादी लगायतले सुनुवाई समिति संविधानअनुसार १५ सदस्यीय हुनुपर्ने बताउँदै आएका छन् भने कांग्रेसले संक्रमणकालको बेला ७३ सदस्यीय नै हुनुपर्ने बताउँदै आएको छ ।
संसदीय सुनुवाई समिति नहुँदा न्यायाधीश नियुक्ति अफ्ठेरोमा परेको छ ।
आजको बैठकमा सकेसम्म सहमति हुने नभए प्रक्रियामा अगाडी बढ्ने समितिका सदस्य तथा एमाले नेता रेवती रमण भण्डारीले जानकारी दिए ।
यसैबिच आजै बिहान ११ बजे अर्थ समितिको बैठक पनि बस्ने भएको छ ।