काठमाडौं, २ भदौ (ओएनएस) : संसदमा रहेका दलहरुले संसदीय समितिको सभापतिमा भागबण्डमा सभापति चयन गर्न सहमत भएका छन् । सभामुख सुवास नेम्वाङले भदौ ४ गतेका लागि व्यवस्थापिका संसद अन्तर्गतका ११ समितिका सभापति चयनको मिति तोकेपछि दलहरुले नाम टुंगो लगाएका हुन् । सभापति चयनका लागि आइतबारबाट प्रक्रिया सुरु हुने भएकाले शनिबर साँझ सभापतिको टुंगो लगाइएको हो ।
कांग्रेस र एमालेले चार चार, एमाओवादीले दुई, राप्रपा नेपालले एक, मधेसी दलहरुले एक र अन्य साना दलले एक सभापति पाउने गरी सहमति भएको छ । स्रोतका अनुसार, कांग्रेसका तर्फबाट संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा यसअघिकै कुलबहादुर गुरुङ, राज्य व्यवस्था समितिको सभापतिमा दिलबहादुर घर्ती, कृषि तथा जलस्रोत समितिको सभापतिमा गगनकुमार थापा र उद्योग समितिको सभापतिमा भीष्मराज आङदम्बे सभापति हुँदैछन् । यसैगरी, एमालेका तर्फबाट अर्थ समितिको सभापतिमा प्रकाश ज्वाला, विकास समितिको सभापतिमा रविन्द्र अधिकारी, महिला तथा वालबालिका समितिको सभापतिमा रञ्जुकुमार झा र सुशासन समितिको सभापतिमा शेरधन राई हुँदैछन् । एमाओवादीले पाएको परराष्ट्र तथा मानवधिकार समितिको सभापतिमा प्रभु साहको नाम तय भएको छ । उसले पाएको सार्वजनिक लेखा समितिमा यसअघि नै जनार्दन शर्मा सभापति भइसकेका छन् ।
उता राप्रपा नेपालले पाएको समितिमा सुशीलकुमार श्रेष्ठ सभापति बन्दैछन् । समितिको सभापति हुन त्यही समितिको सदस्य हुनुपर्ने भएकाले कसैको नाम फेरबदल गर्नुपर्ने भएमा आइतबार साँझसम्मका लागि सभामुख नेम्वाङले समय दिएका थिए । परिवर्तन भएका नौ नाम सोमबारको बैठकमा घोषणा हुने बताइएको छ ।