प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदकाे शपथ अाज

भोलिदेखि संसद अधिवेशन
209
  •  
  •  
  •  

काठमाडौं, २० फागुन (ओएनएस) : प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले आइतबार शपथग्रहण गर्दैछन्।

आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभाको हलमा प्रतिनिधिसभाका सांसदले ज्येष्ठ सदस्य महेन्द्रराय यादवबाट र अपराह्न ५ बजे राष्ट्रियसभाका ५६ सांसदले ज्येष्ठ सदस्य तारादेवी भट्टबाट शपथ लिने कार्यक्रम तय भएको छ।

त्यसअघि आइतबार १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य यादव राजपा अध्यक्षमण्डलका नेता हुन् भने राष्ट्रियसभाका ज्येष्ठ सदस्य भट्ट कांग्रेस नेत्री हुन्।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचन नभएसम्म उनीहरूले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ ।

राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उहाँहरूको शपथ नहुने भएको छ ।

अघिल्लो सरकारले मनोनयन गरेकालाई फिर्ता गरी नयाँ सरकारको सिफारिशमा नयाँ सदस्य मनोनयन भएका विषयमा सर्वोच्चमा रिट निवेदन परेको थियो ।

फौज्दारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबाट कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उनीहरू आएमा शपथ लिन सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए।

प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य छन्। दुवै सदनको संयुक्तरूपलाई संघीय संसद् भनिन्छ। प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित १ सय १० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदन मानिन्छ। गत मंसिर १० र २१ मा प्रतिनिधि सभा र गत माघ २४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन भएको थियो।

दुबै संसदको बैठक सोमबारदेखि सुरु हुनेछ।


  •  
  •  
  •