आजबाट संसदको बर्खे अधिवेशन

175
  •  
  •  
  •  

काठमाडौँ, २१ बैशाख(ओएनएस) : व्यवस्थापिका संसदको दोस्रो अधीवेशन मंगलबारदेखि सुरू हुँदैछ । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र आव २०७३/०७४ को बजेट प्रस्तुत हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २६ गते बैठकमा सम्बोधन गर्ने तयारी पनि गरिएको छ ।

व्यवस्थापिका संसदको आज बस्ने बैठकको सुरूमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाइने कार्यसूची तय भएपनि अन्य कार्यसूची भने तय भएको छैन् । यस अधिवेशनमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नयाँ आवको आवको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नेछन् ।

पूर्वबजेटका रूपमा लिइने भएकाले यो छलफललाई पनि महत्वपूर्ण छलफलको रूपमा लिइन्छ । छलफल सकिएपछि सदनमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ । उक्त नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गरिने संवैधानिक व्यवस्था रहेको छ । यसपछि नीति तथा कार्यक्रममा दफावार छलफल हुनेछ ।

नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गतेसम्म सरकारको बार्षिक आयव्यय अर्थात् बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । अघिल्लो वर्ष सदनको हिउँदे अधिवेशन बस्न नसकेका कारण विधेयक अधिवेशनका रूपमा रहने सदनको उक्त सत्रको जिम्मेवारी पनि यो अधिवेशनमाथी नै छ ।

सरकारले पुनःनिर्माणका लागि राजनीतिक दललाई स्वयंसेवक खटाइदिन आग्रह गरेको र राष्ट्रपतिको भारत भ्रमणको कार्यसूची बन्दै गरेको अवस्थामा संसदमा रहेका ४० विधेयकलाई पारित गर्नुपर्ने चाप पनि यो अधिवेशनलाई छ । समय अभावका कारण एक महिनाभित्र ती विधेयक निष्कर्षमा पुग्ने सम्भावना कम रहेको छ ।


  •  
  •  
  •