काठमाडौं, १५ भदौ (ओएनएस) : दीर्घकालीन कृषि विकास रणनीतिको मस्यौदा माथिको छलफल चलाए लगत्तै पत्रकारले गगन थापालाई सोधे कस्तो लाग्यो संसदीय समितिको सभापतित्व ?, गगनको जवाफ थियो, ‘कलेजको पहिलो दिन जस्तै’ ।
‘मिनि पार्लियामेण्ट’ भनिने संसदीय समितिको नेतृत्वमा युवा सभासद् छानिएपछि आइतबार देखि संसदीय समिति सक्रिय बनेका छन् । कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले लाखांैकिसानको सरोकारको बिषयमाथि छलफल गराएर आफ्नो कामको श्रीगणेश गरे । ‘विगतमा पनि उपसमिति चलाएको हुनाले मलाई समिति बैठक चलाउन खासै गाह्रो परेन, गगनले ओएनएससंग भने, हामीले नयाँ जोशका साथ काम गर्नु पर्छ ।’
विकास समितिका सभापति रवीन्द्र अधिकारीले पहिलो दिनको बैठक नै व्यवस्थित गरेर संसदीय अनुसाशन सुरु गराए । ‘परंपरागत ढंगले काम गर्ने समय छैन, हामीबाट जनताले केही आशा गरेका कारण हामीले कार्यशैलीमा परिवर्तन ल्याउन जरुरी छ’ अधिकारीले भने । समिति अनुशासन कायम राख्नु पर्ने भन्दै बैठकको बीचमा बोल्न खोज्नेलाई उनले समय दिएनन् ।
भैतिक योजना, निर्माण तथा यातायात, स्थानीय विकास र सञ्चार जस्ता महत्वपूर्ण मन्त्रालय विकास समितीको क्षेत्राधिकार भित्र पर्छ । अघिल्लो संविधानसभामा संसदको लेखा समितिमा स्मरणीय भूमिका निभाएका अधिकारी संसदीय व्यवस्था बुझेका सभापति हुन् । संसदमा सूर्यबहादुर थापा पछिका जेष्ठ सदस्य कुलबहादुर गुरुङलाई अपबाद मान्ने हो भने अन्य सभापति युवा पृष्ठभूमिका छन् । ‘संसदीय समितिको सभापतित्व ग्रहण गर्दा जिम्मेवारी महसुश भयो, महिला बालबालिका समितिकी सभापति रञ्जु ठाकुरले भनिन, ‘सबै भन्दा राम्रोसंग समिति चलाउछु भन्ने आत्म विश्वास छ ।’
शेरधनको हिम्मत !
सुशासन तथा अनुगमन समितिले सभापति निर्वाचित भएको पहिलो दिनको बैठकबाटै प्रधानमन्त्री सुशील कोइरालालाई समितिमा आमन्त्रण गरेको छ । बाढी पीडितको राहात वितरणमा अनियमितता भएको भन्दै समितिले प्रधानमन्त्री कोइरालाई बोलाउने निर्णय गरेको हो । समितिको सभापतिमा शेरधन राई छन् । संसदीय व्यबस्थामा समितिले प्रधानमन्त्रीलाई बोलाउन सक्छ ।
तर अस्वस्थताका कारण प्रधानमन्त्री निवासमै मन्त्रिपरिषद बैठक राखेका प्रधानमन्त्री कोइराला मंगलवार समितिको बैठकमा आउँछन आउँदैनन ? समितिलाइ प्रतिष्ठाको बिषय बनेको छ । प्रधानमन्त्रीको स्वास्थ्य अबस्थालाई ख्याल गरेर केही दिनपछि बोलाएको भए उपयुक्त हुने एक सभासदले टिप्पणी गरे ।