संघीय नेपालकाे ऐतिहासिक संसद बैठक आजबाट, यस्ताे छ कार्यसूची

375
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन (ओएनएस) : संघीय संसद्अन्तर्गत राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको पहिलो बैठक सोमबार बस्दै छ।

आइतबार सांसदहरुले सपथ लिएपछि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको पहिलो बैठक अपराह्न ४ बजे सम्बन्धित सदनको हलमा बस्न लागेको हो।

संघीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ।
प्रतिनिधिसभा संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन अवधिभरको जुनकुनै बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने र त्यसवेला मात्रै प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने बताए।

पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको जानकारीसहितको पत्र पढेर सुनाइने कार्यसूची छ। संसद्को पहिलो बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाका अध्यक्ष चयनको औपचारिक मिति तय गर्नेछ । दुवै सदनको पहिलो बैठकमा आ–आफ्नो सभाको बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि प्रस्तुत हुनेछ।

प्रतिनिधिसभाका सभामुखका लागि फागुन २६ गते चुनावको मिति तोक्ने तयारी छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २७ गते विश्वासको मत लिने गरी मिति निर्धारण हुनेछ।

राष्ट्रिय सभाले फागुन ३० गते अध्यक्ष चयन गर्ने गरी मिति तय गर्ने तयारी छ। सभामुख र अध्यक्षको चयनपछि मात्र उपसभामुख र उपाध्यक्ष चयनको मिति तय हुने संसद सचिवालयले जनाएको छ।


  •  
  •  
  •