संविधान संशोधन विधेयक आज निर्णयार्थ पेस गरिँदै

198
  •  
  •  
  •  

sansad

काठमाडौं, ५ भदाै (अाेएनएस) : व्यवस्थापिका संसद बैठकमा आज संविधान संशोधन विधेयक निर्णयार्थ पेस गरिँदै छ । दिउँसो १ बजे बस्ने बैठकमा सरकारले संविधानको दोस्रो संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरेको हाे।

प्रधानमन्त्री निर्वाचनमा सत्तारूढ गठबन्धनलाई साथ दिएको राप्रपाले समेत अाइतबार विपक्षमा मतदान गर्ने निर्णय गरेसंगै अब संशोधन विधेयक पारित नहुने निश्चित  जस्तै बनेकाे छ ।

संविधान जारी भएदेखि नै असन्तुष्ट रहेका मधेस केन्द्रित दलहरूको माग सम्बोधन गर्न सरकारले राष्ट्रिय सभाको प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता, भाषा र प्रदेश सीमांकन आयोगको क्षेत्राधिकारसहितका विषयमा संविधान संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो ।

आज पनि बैठकमा विधेयकमाथिको दफावार छलफल गर्न गरिने र त्यो सक्नेवित्तिकै मतदानको प्रक्रिया अगाडि बढ्ने जनाइएको छ । संविधान संशोधनका लागि परेको ५० वटा संशोधन क्रमैसँग निर्णयार्थ पेस हुनेछ । संविधान संशोधन विधेयकका पक्षमा सदनमा तत्काल कायम रहेको कुल सदस्य संख्या ५९२ को दुई तिहाइ ३९५ मत अावश्यक छ । याे संख्या नपुगेको अवस्थामा संविधान संशोधन प्रस्ताव अस्वीकृत हुन्छ ।

 


  •  
  •  
  •