२४ जिल्लालाई राष्ट्रिय बिपद्ग्रस्त क्षेत्र घोषणा गर्ने

133
  •  
  •  
  •  

 काठमाडौं, २ भदौ (ओएनएस) : सरकारले बाढी प्रभावित २४ जिल्लालाई राष्ट्रिय बिपद्ग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ ।
एकीकृत माओवादीले विपदग्रस्त क्षेत्र घोषणको माग गर्दै संसद अवरुद्ध गरेपछि बसेको प्रमुख तीनदलको बैठकले यस्तो सहमति गरेको हो । दलहरुको सहमति र सिफारिसका आधारमा सरकारले २४ जिल्लालाई राष्ट्रिय बिपद्ग्रस्त क्षेत्र घोषणा गर्नेछ ।

त्यस्तै प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा उच्चस्तरीय राहत तथा पुर्नस्थापना समिति बनाउने सहमति पनि बनेको छ । समितिमा तीनदलका प्रतिनिधि रहनेछन् । प्रतिपक्ष दलको मागलाई सम्वोधन गर्दै संसद बैठक एक साताका लागि स्थगित गरिएको छ । बाढी र डुबान प्रभावित क्षेत्रमा नागरिकसँग साक्षात्कार गर्नका लागि सभासदहरुलाई जिल्ला जान दिनुपर्नेभन्दै प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले गरेको माग अनुसार यही भदौ ९ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

आजको संसद बैठकको सुरुमा बोल्दै प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरमा बाढी, पहिरो र डुबानका कारण संयौं नागरिकको मृत्यु भएको, बेपत्ता भएका नागरिकको बारेमा कुनै खबर नभएको र राहत तथा क्षतिपूतिृ दिन सरकार असफल भएकोभन्दै राष्ट्रिय बिपद्को घोषणा गर्न माग गरेका थिए ।

राष्ट्रिय बिपद् घोषणा गर्नुपर्ने आफूहरुको माग पूरा नभएसम्म संसद बैठक चल्न नदिनेभन्दै एकीकृत माओवादी लगायत प्रतिपक्षी दलका सभासदहरुले आआफ्नो स्थानबाट उठेर बिरोध जनाएका थिए । लगत्तै सभामुख सुबास नेम्वाङले बैठक आधा घण्टाका लागि स्थगित गरे । बैठक स्थगित भएपछि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । झन्डै डेढ घण्टापछि बसेको संसद बैठकमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्रतिपक्षी दलहरुले उठाएका जिज्ञासाको जवाफ दिएका थिए ।


  •  
  •  
  •