सुन प्रकरणका नाइके गोरेविरुद्ध डिफ्यूजन नोटिस जारी, पुर्व आइजीपी आर्याल पनि आए शंकाको घेरामा

307
  •  
  •  
  •  

काठमाडाैँ, १४ बैशाख (अाेएनएस) : सुन तस्करीको प्रकरणमा नाइके गोरे भनिने चुडामणि उप्रेतीको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ।

डिफ्यूजन नोटिस जारी भएको हुनाले अब इन्टरपोलको सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गोरेको खोजी गर्नेछन् ।

सुन तस्करी प्रकरणको सत्य तथ्य छानविन तथा अनुसन्धानको लागि सरकारद्धारा गठित समितिका एक अधिकृतका अनुसार प्रहरी अधिकारीकै मिलेमतोमा नेपालमा संगठित सुन तस्करीको र्‍याकेट चलाउने समुह गोरेलार्इ सहयोग गरेका हुन्।

प्रहरी स्रोतका अनुसार साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती नेपाल बाहिर रहेको आंशकमा मोरङ प्रहरीको सिफारिसमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले उनीविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो ।

अपराध महाशाखाका तत्कालिन प्रमुख दिवेश लोहोनीले उक्त सुन तस्करी प्रकरणको हरेक गतिविधि तत्कालिन महानिरीक्षक प्रकाश अर्याललाई जानकारी गराएको भन्दै उनले छानबिन समिति समक्ष बयान दिएका छन् ।

सोही बयानको आधारमा अर्याललाई समेत समितिले शंकाको घेरामा राखेको छानविन समितिका एक अधिकृतले बताए। त्यसबीच केही प्रहरी अधिकारीकै सहयोगमा गोरेलाई भगाइएको समेत छानविन समितिको आशंका छ ।

यो प्रकरणमा गोरेसहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती, मोहनकुमार अग्रवाल, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया, भविन राई, कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल, भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायत फरार छन् ।

छानविन समितिका अनुसार घटनामा संलग्न हालसम्म २७ जना पक्राउ परिसकेका छन् । २१ जना फरार छन् । ३८ जनाको सम्पत्ति रोक्का गरिएको छ ।


  •  
  •  
  •