तीनकुने छोप्न टिनको सहारा

134
  •  
  •  
  •  

काठमाडौं ५ मंसिर ।
तीनकुनेमा पार्क बनाउने एक करोड रुपैयाँ बजेट थाती रा दै महानगरपालिकाले खाली जग्गा निलो जस्ताले छोपेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउनमा भएको भ्रमणका बेला रातारात रोपिएका बिरुवासमेत मरेका छन्। सार्कमा आउने पाहुनाले तीनकुनेको अव्यवस्था नदेखून् भनेर महानगरपालिकाले जस्ता (टिन) ले बारेको छ।

तीनकुनेको एकातर्फको भाग (त्रिभुवन विमानस्थलबाट सिनामंगल-गैरीगाउँ हुँदै बानेश्वरतर्फ जाने) सडककिनारमा जस्ता लगाइएको छ। सार्कका पाहुनाले तीनकुनेको अवस्था नदेखून् भन्‍नकै लागि जस्ताले ‘लाज’ छोपिएको महानगरपालिकाकै कर्मचारी बताउँछन्। महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले तीनकुनेमा पार्क बनाउन चाहे पनि जग्गाको मुआब्जा विवाद नटुंगिएकाले काम हुन नसकेको दाबी गरे।

मुआब्जा पूर्ण वितरण नहुँदासम्म पार्क निर्माण गर्ने कानुनी आधार नभएकाले तीनकुने अस्तव्यस्त हुन पुगेको हो। ‘हामीले पार्क बनाउन चाहेका हौं। यसपटक विवाद समाधान होला भनेर बजेट छुट्ट्यायौं तर काम हुन सकेन’, पोखरेलले भने।

उनका अनुसार तीनकुनेमा जग्गा भएका धेरैले मुआब्जा लिइसके पनि १०-१५ जनाले मुआब्जा कम भएको भन्दै लिएका छैनन्। यसैकारण महानगरपालिकाले लाखौं खर्च गरेर बनाएको गुरुयोजना कार्यान्वयन हुन नसकेको हो।

महानगरपालिकाले एक दशकअघि नै तीनकुनेमा आधुनिक र सुन्दर बगैंचा बनाउने योजना अघि सारेको थियो। पार्कका लागि दुई वर्षअघि महानगरपालिकाले तीनवटा भिन्न खालका स्केच तयार पारेको भए पनि कार्यान्वयन हुनसकेको छैन।

२०५८ सालमा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापितले तीनकुनेका घर भत्काउँदा ५३ रोपनी जग्गा भए पनि सडक विस्तारका क्रममा तीनतिरबाट अतिक्रमण हुँदा अहिले करिब ३५ रोपनीमात्र बाँकी छ। त्यो खाली जग्गा अहिले डम्पिङसाइटजस्तै भएको छ। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •