काठमाडौं २८ चैत (ओएनएस ) :
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ घर फर्किने दिन आइसक्दा पनि प्रधानन्यायाधीशको सिफारिस हुन सकेको छैन । आज आइतबार संवैधानिक परिषदले प्रधानन्यायाधीशको सिफारिस गर्ने तय भएपनि परिषदको बैठक अनिर्णित बनेको छ । सभामुख ओनसरी घर्ति अनुपस्थित भएपछि प्रधानन्यायधिस नियूक्तीकोलागि बोलाईएको संबैधानिक परिषदको बैठकले निर्णय गर्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक टेलिफोन गर्दा पनि फोन नउठेको र पछि मात्रै सभामुख विरामी परेर अस्पताल गएको जानकारी पाएको कानुन मन्त्री अग्नी खरेलले जानकारी दिए ।
आजको बैठकले सर्वोच्च अदालतकी न्यायाधीश शुशिला कार्कीलाई प्रधानन्यायधिस नियूक्ती गर्ने तयारी थियो । बर्तमान प्रधानन्यायधिसको पर्सी चैत्र ३० गते पदावधी सकिदैछ । संबैधानिक परिषदको बैठक आजै साझँका लागि सारिएको छ । यसअघि को बैठक पनि काग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएका कारण बस्न सकेको थिएन । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चैत ३० गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेकाले नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि परिषद्को वैठक बोलाइएको हो ।
वरिष्ठताको आधारमा कार्कीलाई प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदले सिफारिस गर्नेछ । कार्की प्रधानन्यायाधीश भएपछि नेपालमा पहिलो पटक महिला प्रधानन्यायाधीश बन्नेछिन ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ३० चैतमा अबकाश लिएपछि बरिष्ठ न्यायाधीश सुशीला कार्की कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन । संसदीय सुनुवाइपछि मात्रै कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी पाउने छिन । तर दलहरुबीचको विवादले नियमावली नबबन्दा सुनुवाई समिति बन्न सकेका छैन । यसअघि सिफारिस भएका न्यायाधीशको पनि सुनुवाई भएको छैन ।