संवैधानिक परिषद ‘बहुमतीयतर्फ ‘

143
  •  
  •  
  •  

काठमाडौं १४ फागुन (ओएनएस): सहमति नभए प्रक्रियाबाट आज लोकसेवा आयोगका पदाधिकारी सिफारिस गरिने भएको छ । प्रधानमन्त्री सुशील कोइराला र प्रतिपक्षी नेता पुष्पकमल दाहालबीचको विवादका कारण संवैधानिक परिषद्को मंगलबारको बैठकले लोकसेवा पदाधिकारी नियुक्तिको सिफारिस गर्न सकेन । मंगलबार नै सहमति नभए प्रक्रियाबाट अघि बढ्ने सहमति भएको थियो ।

संवैधानिक परिषद्सम्बन्धी ऐनमा पहिलो बैठकमा सर्वसम्मत नभए अर्को बैठकले बहुमतबाट निर्णय गर्न सक्ने उल्लेख छ । संविधानसभाका अध्यक्ष तथा परिषद सदस्य सुवासचन्द्र नेम्वाङले आज लोकसेवा आयोगका पदाधिकारी सिफारिस हुने बताए । उनले सम्भव भएसम्म रिक्त सबै संवैधानिक निकायमा नभए लोकसेवामा सिफारिसको तयारी भएको बताए ।

‘ सम्भव भए सर्वसम्मतिबाट र नभए कानुनअनुसार बहुमतबाट लोकसेवाका पदाधिकारी नियुक्तिको आज सिफारिसको निर्णय हुनेछ, नेम्वाङले भने । एमाओवादी अध्यक्ष प्रचण्डले लोकसेवाकी निवर्तमान अध्यक्ष कयोदेवी यमीलाई नै निरन्तरता दिनुपर्ने प्रस्ताव राखेका छन् । कोइरालाले पूर्वसचिव उमेश मैनालीलाई अघि सारेका छन् । एमालेले जयमुकुन्द खनालको नाम सदस्यका लागि अघि सारेको छ ।

स्रोतका अनुसार एमाओवादी अध्यक्ष प्रचण्डले यमीको नाम अघि सारेपनि अडानका रुपमा उनले लिएका छैनन । ‘भित्री चाहाना उनको पनि छैन जस्तो देखिन्छ’ स्रोतले भन्यो ‘उनले प्रंस्तावका रुपमा अघि ल्याएका हुन अडानमा रुपमा सारेका छैनन यसबाट उनको अन्तरमनले प्रस्ताव गरेको होइन भन्ने बुझिन्छ ।’ लोकसेवा पदाधिकारीकै नाममा विवाद भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अन्य संवैधानिक निकायमा रिक्त पदाधिकारीबारे छलफल हुन सकेन। परिषदको बैठक साँझ, ५ बजे बोलाइएको छ ।


  •  
  •  
  •