काठमाडौँ, २८ कात्तिक(ओएनएस) : फ्रान्सको राजधानी पेरिसको मध्य भागमा रहेको एक कन्सर्ट हलमा भएको आतंकवादी हमलामा कम्तिमा १ सय २० जनाले ज्यान गुमाएका छन् ।
पेरिसको मध्य भागमा रहेको बाटाकालन कन्सर्ट हल नजिकै भएको उक्त हमलापछि १ सय भन्दा बढी मानिसले हतियारधारीले बन्धक बनाइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त आत्मघाति हमलापछि फ्रान्समा संकटकाल घोषणा गरिएको छ भने फ्रान्सका सबै सीमा बन्द गरिएको छ । यस हमलालाई दोस्रो विश्वयुद्धपछि भएको सबैभन्दा ठूलो हमला भनिएको छ ।
राष्ट्रपति फरांस्वा ओलांदले राष्ट्रका नाममा सन्देश दिदै देशमा आपतकालको घोषणा गरेका हुन् । हतियारधारीले एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली चलाएका थिए भने दुई आत्मघाति बम हमलाकारीले फुटबल मैदानको बाहिर बमसहित आफूलाई विस्फोट गराएका थिए । पेरिसका स्थानिय वासिन्दालाई घरबाट बाहिर निस्किन रोक लगाइएको छ । फ्रान्स र जर्मनीबीच मैत्रीपूर्ण फुटबल म्याचमा भइरहेको स्टेडियम नजिकै विस्फोट गरिएको थियो । खेल हेर्न फ्रान्सका राष्ट्रपति समेत उपस्थित भएका थिए ।
घटनापछि त्यहाँ वरपरको अवस्था अस्तव्यस्त देखिन्थ्यो । मानिसहरू भागाभाग गरिरहेका थिए भने शवहरू यत्रतत्र छरिएर रहेको देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी तथा उद्धारकर्मीहरुले घाइतेहरूको उद्दार गर्दै अस्पताल पुर्याउने काम गरिरहेका छन् भने सामान्य घाइतेहरूलाई दुर्घटनास्थलमा नै उपचार गरिएको छ ।
हेरौ केही दृश्यहरू…
तस्विर : डेलिमेल डट को डट युके