आमाबाबु जेल परे, पाँच बालबालिकाको बिचल्ली

178
  •  
  •  
  •  

काठमडौं १३ चैत । कर्तव्यज्यान मुद्दामा बाबुआमा २० वर्षका लागि जेल परेपछि पाँच बालबालिकाको बिचल्ली भएको छ। जिल्ला अदालत धनकुटाले मुडेबास ८ का उत्तरकुमार लिम्बूलाई मारेको कसुरमा डिल्लीमाया लिम्बू र उनका पति धनकुमार लिम्बूलाई २०७० जेठ १६ गते कैद सजाय ठेकेपछि उनीहरू अहिले जेलमा छन्।
उनीहरू जेल परेपछि पाँच बालबालिकाको भविष्य अँध्यारो भएको छ। हत्यालगत्तै लिम्बू दम्पतीविरुद्ध किटानी जाहेरी परेपछि धनकुमार २०६७ असार २१ मा थुना परेका थिए। त्यतिबेला डिल्लीमाया गर्भवती भएकाले अशक्त थिइन्।
पति थुनामा गएको दुई दिनपछि उनले कान्छो छोरा जन्माएकी थिइन्। धनकुटा जिल्ला अदालतले २०७० जेठ १६ गतेअभियुक्त दम्पतीलाई कसुरदार ठहर गरी २० वर्ष सजाय सुनाएको थियो।
लिम्बू दम्पतीका १५, १३, ११, ७ र ४ वर्षका छोराछोरी छन्। बाबुआमा दुवै जेल परेपछि कक्षा नौमा पढ्दै गरेकी जेठी छोरी टीकामायाको पढाइमात्र बन्द भएन, काँधमा सानासाना भाइबहिनीको स्याहार गर्ने जिम्मेवारी पनि थपियो।
डिल्लीमाया जेल परेको एक वर्षपछि टीकामाया सानासाना भाइबहिनी लिएर बिहीबार धनकुटा सदरमुकामस्थित कारागारमा आमालाई भेट्न आएकी थिइन।
टीकामायाले बाबुआमा जेल परेपछि पढाइ छुटेको र दिनरात खट्दा पनि भाइबहिनीलाई खाना जुटाउन नसकेको दु:ख सुनाइन्।
उनले भनिन्, ‘आमाबाबु नै जेल परेपछि चार भाइबहिनीको लालनपालनको जिम्मा मेरो काँधमा आयो। न हातमा सीप छ, न केही क्षमता छ।
छिमेकीले कति दिन सहारा देलान् र? कसैले नोकर राखेर भाँडा माझ्न दिए भाइबहिना पाल्न सक्थें कि।’ बाबुलाई भने धनकुटा कारागारमा स्थान अभाव भएर वीरगन्ज सरुवा गरिएपछि छोराछोरीले भेट गर्नसमेत पाएका छैनन्।
भाइबहिनीको समेत पढाइ छुटेकाले उनी झनै चिन्तित छिन्। ‘आमाबाबु जेल परे, हजुरबुबा बिते, हजुरआमा असक्त छिन्, भाइबहिनीलाई खानलाउन नै दिन सकेकी छैन। केले पढ्ने, कसरी पढाउने?’ टीकाले रुँदै भनिन्, ‘भाइबहिनीलाई समेत लिएर गुजाराका लागि दैनिक अर्काको मेलापातमा जानुपर्छ।’
चार वर्षीय कान्छो भाइलाई भने विभिन्न संघसंस्थाले सदरमुकामस्थित बाल पुनस्र्थापना केन्द्रमा राखिदिएको उनले बताइन्।
गाउँमा सानो घरबाहेक केही नभएका लिम्बू दम्पतीले बनीबुतो र बन्धकी कमाएर छोराछोरी पाल्दै आएका थिए। आफूलाई भेट्न आएका छोराछोरीलाई देखेपछि डिल्लीमाया जेलभित्रै भक्कानिइन्।
उनले बनीबुतो गरेर भए पनि दु:खसुख पालेको विगत सम्झँदै सञ्चारकर्मीसँग भनिन्, ‘कमाउने कोही नभएपछि कलिला तामाका मुनाजस्ता छोराछोरीले के खाए होलान्, कसरी बसेका होलान् भनेर मुटु फुट्लाझैं हुन्छ।  रातदिन चिन्ता लाग्छ। सबैतिर अँध्यारोमात्र दे छु।’  अन्नपूर्णपोष्टबाट 

  •  
  •  
  •