प्रदेश ५ को पञ्चवर्षीय आवधिक योजना सार्वजनिक

144
  •  
  •  
  •  

रुपन्देही । प्रदेश ५ को योजना आयोगले कृषि, उद्योग र पर्यटनलाई प्राथामिकतामा राखेर आवधिक योजना सार्वजनिक गरेको छ ।

पञ्चवर्षीय आवधिक योजनाको मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार बुटवलमा सार्वजनिक गरे ।  योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले कृषि, उद्योग, पर्यटनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी प्रदेशको आर्थिक वृद्धिदर बढाउने आवधिक योजनाको मुख्य लक्ष्य रहेको बताए ।

समृद्ध प्रदेश खुसी जनताुको दीर्घकालीन सोचका साथ प्रदेश सरकारले समृद्ध अर्थतन्त्र रोजगारमुखी जीवन निर्वाह प्रणाली, स्वच्छ र सुरक्षित वातावरणमा आधारभूत भौतिक सुविधा उपलब्धताको अपेक्षा गरेको छ ।

आवधिक योजनाका आधारहरु ६ वटा रहेका छन् । त्यस्तै आवश्यक भौतिक पूर्वाधार निर्माण तथा विस्तार, गुणस्तरीय शिक्षा, स्वास्थ्य विस्तार गरी मानवीय पूँजी निर्माण, सामाजिक समावेशिता र लैंगिक समता प्रवद्ध्धन, प्रभावकारी विपद् व्यवस्थापन, जलवायु परिर्वतन अनुकूलनको विकास र विधिको शासन कायम गर्दै सुशासनको प्रत्याभूति गर्ने आवधिक योजनाका रणनीतिक लक्ष्य रहेका छन् ।

संविधान, दिगो विकास लक्ष्य, दीर्घकालीन सोच, सहितको पन्ध्रौै राष्ट्रिय आवधिक योजना, प्रदेश सरकारको नीति तथा कार्यक्रम, प्रदेशको आर्थिक सामजिक वस्तुस्थिति र राजनीतिक दल र जनप्रतिनिधिहरुको सुझाव समावेश गरी आवधिक योजना आएको हो ।

आवधिक योजनमा प्रदेशको कृषि क्षेत्र ६ दशमलव ३, सेवा क्षेत्र ९ दशमलव ७, उद्योग १४ दशमलव ७ गरी औषत आर्थिक वृद्धिदर ९ दशमलव ५ प्रतिशत प्रक्षेपण गरिएको छ । त्यस्तै प्रदेशमा २ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ ५ वर्षमा खर्च हुने गौतमले बताए ।

यी मध्ये चालूतर्फ १ अर्ब १२ खर्ब ३१ करोड र पूँजीगत खर्च १ खर्ब ४७ अर्ब ४० करोड र वित्तीय लगानी १२ अर्ब ५५ करोड हुने अनुमान छ । यस अवधिमा वैदेशिक अनुदान ८ अर्ब १५ करोड, र बाँकी २२ अर्ब ८७ करोड घाटा ५ अर्ब १५ करोड वैदेशिक ऋण र १६ अर्ब ७२ करोड आन्तरिक ऋणबाट पूर्ति गर्ने अनुमान योजना आयोगको छ ।

यस अवधिमा भौतिक पूर्वाधार, कृषि, उद्योग, पर्यटन क्षेत्रलाई समेटने गरी बढी १० वटा प्रदेशकि गौरवका आयोजना छनौट गरी कार्यान्वन गर्ने, भू उपयोग नीति तथा प्रचलित ऐन बमोजिम भूमिको वर्गिकरण गरी कृषि उद्योग र आवाश क्षेत्रलाई छुट्याई भूमि व्यवस्थापन गर्ने लक्ष्य छ । पाँच वर्षमा प्रतिव्यक्ति आय वाषिर्क दुई हजार अमेरिकी डलर पुर्याउने र गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशमा लगानी सम्मेलन गरी पञ्च वर्षिय योजनाको लक्ष्य पूरा गर्ने आफूहरूले लक्ष्य लिइएको बताए । उनले आन्तरिकसँगै बाह्य लगानी भित्राएर प्रदेशलाई समृद्धिको दिशामा लैजाने बताए। मुख्यमन्त्री पोखरेलले कृषि, उद्योग र पर्यटनबाट प्रदेशले ठूलो अपेक्षा गरेको वताए। प्रदेशको समृद्धिमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले आवधिक योजनाको सफलताका लागि निजि क्षेत्रबाट दुई तिहाई लगानीको अपेक्षा गरीएको बताए ।

उत्कृष्ट शिक्षकहरुलाई सम्मान

प्रदेश ५ सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ । मन्त्रालयले गुरु पुर्णिमाको अबसरमा बधुबार एक कार्यक्रमको आयोजना गरी सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागी शिक्षकहरुले गरेको योगदानको कदर गर्दै प्रदेश ५ भित्रका ३३ जना शिक्षकहरुलाई नगदसहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिद्यालयको शिक्षालाई उत्कृष्ट बनाउन शिक्षकको भूमिका महत्वपूर्ण हुने भएकोले पैसा मात्र भन्दापनि हामीले गरेको कामको मुल्यांकन गर्ने कोहि छ भन्ने होस् र आफ्नो पेशालाइ थप व्यवस्थित र शिक्षाको गुणस्तर अझै राम्रो बनाउन प्रेरणा होस् भन्ने उदेश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रदेश ५ को शिक्षाको गुणस्तर राम्रो बनाउनका लागी बिभिन्न गुनासाहरुलाई संबोधन गरेर मन्त्रालयले ३ तहकै सरकारसँग समन्वय गरी आगामी दिनमा शिक्षक र बिद्यालयहरुलाई अझै धेरै सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नमुना बिद्यालय बन्न चाहने बिद्यालयहरुलाई प्रदेश सरकारले सहयोग गर्ने र त्यसको लागि प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउने बताए ।

कार्यक्रममा सम्मानित भएका शिक्षकहरुले प्रदेश सरकारले आफुहरुलाई गरेको सम्मानले आफुहरुलाई थप हौसला प्रदान गरेको भन्दै आगामी दिनमा शिक्षाको गुणस्तर बढाउन बिद्यार्थी, अभिभाबक र सम्बन्धित पक्ष सबैसंग सहकार्य गरी लागिरहने बताए । सामाजिक विकास मन्त्रालयको सभाहलमा सम्पन्न भएको कार्यक्रमको सन्चालन शाखा अधिकृत हरिलाल अर्यालले गरेका थिए ।


  •  
  •  
  •