दाहाल ६० वर्षमा, तरबारको धारमा दाहाल

402
  •  
  •  
  •  

prachanda 1काठमाडौं २७ मंसिर।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार ६० वर्ष पुगेको अवसरमा जन्मदिन मनाएनन् । बरु उनले ६० औं जन्मदिनका मौकामा संविधान निर्माण र पार्टीलाई एकताबद्ध गर्ने चुनौतीका रुपमा लिएका छन् ।

उनलाई यो चुनौती पुरा गर्न यतिबेला तरबारको धारमा उभिएको जस्तो भने लागेको छ । १० वर्ष सशस्त्र युद्धसहित २७ वर्ष पार्टीको नेतृत्व गरेका उनलाई यतिबेला दुई काम सम्पन्न गर्ने अग्निपरीक्षा छ, । अहिले पनि पहिलो संविधानसभाबाट संविधान नबनाएको अपजश उनले ब्यहोर्नु परेको छ, त्यस्तै उनले पार्टी एकताबद्ध नगरेको आरोप पनि निरन्तर खाइरहेका छन् । पहिलो संविधानसभाबाट संविधान नबन्नु र एमाओवादी फुट्नु उनका लागि सबभन्दा तीता क्षण हुन् ।

उनी सामु ठूलो चुनौती संविधान निर्माण गर्नु हो । संविधान निर्माणसंग उनको राजनीकि भविष्य गासिएको छ । जति संविधान छिटो बन्छ, त्यति उनको राजनीतिक उचाइ बढ्ने छ । यसै सन्दर्भमा उनीमाथि जनजाति, मधेशीलाई उचालेको आरोप एकातिर छ भने अर्कोतिर आवश्यकताभन्दा बढी लचकता अपनाएको वचन भोग्नु परेको छ । यस्तो अवस्थामा उनी साच्चिकै अप्ठ्यारोमा परेका छन् । सायद यति अप्ठ्यारोमा उनी सशस्त्र युद्धको बेला पनि परेका थिएनन् । सशस्त्र युद्धको बेला उनी राज्यसित मात्र लड्नुपथ्र्यो ।

‘यतिबेला गौडागौडामा लड्नु पर्ने अवस्था छ’ लाजिम्पाटस्थित कान्तिपुरसंगको एक भेटमा उनले भने, ‘बहु लडाइ जित्नु साच्चिकै चुनौतीपूर्ण हुँदो रहेछ ।’ करिब साढे तीन दशकको सक्रिय राजनीतिक जीवनमा उनले सबभन्दा चुनौतीको सामना यतिबेलो गर्नुपरेको छ । मुलुकमा गणतन्त्र स्थापना गर्नु र शान्ति प्रक्रिया निश्कर्षमा पुर्‍याउने काम गरेकाले उनको नाम नेपालको इतिहासमा भने दर्ज भइसकेको छ । अब उनको अर्को मुख्य कार्यभारचाहि संविधान निर्माणको काम सम्पन्न गर्नु हो ।

भरभन्दा डर देखाउने धेरै भएपछि बेलाबेला उनी झस्किने गर्छन् । कहिले बढी समर्थन र कहिले बढी बिरोधको नाममा आफूलाई एक्लाउने प्रयास भइरहेका उनको बुझाइ छ । उनी त्यो सबै काम योजनामा भएको ठान्छन् । बेलाबेला आफू घेराबन्दीमा परेको अभिव्यक्ति आउनुको कारण पनि त्यही हो । संविधानका अन्तरवस्तुमा लचक हुदा आत्मसमपर्ण गरेको र अडान राख्दा संविधान निर्माणमा अबरोध गरेको आरोप उनले खेपेका निकट नेताहरुसंग गुनासो गर्छन् । उदाहरणका लागि उनले संघीयताका बिषयमा बहुपहिचानको कुरा गर्दा आत्मसमर्पण गरेको र जातजाति, संस्कृतिको आधारमा संघीयता हुने अडान राख्दा जातजातिबीच द्वन्द्व गराउन खोजेको आरोप उनले झेलेका छन् ।

‘कहिले कसलाई, कहिले कसलाई उचालेर मैमाथि आक्रमण गर्ने प्रयास हुन्छ’ कुनैको पनि नाम नलिएर दाहालले निकट नेताहरुसंग भन्ने गरेका छन्, ‘त्यो राष्ट्रिय, अन्तराष्ट्रिय शक्तिको काम हो ।’ कोषाध्यक्ष हरिबोल गजुरेलले सबै डिजाइन एमाओवादी र नेतृत्व कमजोर पार्न भइरहेको दाबी गरे ।

आफूलाई कहिले बढी समर्थन र कहिले बढी बिरोध गरेर अप्ठ्यारोमा पार्ने काम गरेको उनले महसुस गरेका छन् । यतिबेला उनलाई डरैडर देखाएर कमजोर बनाउने प्रयास भइरहेको ठानेका छन् । यो डरबीच उनले संविधान निर्माण र पार्टी एक बनाउने काम भने गरेरै छाड्ने अठोट गरेका छन् । त्यसका लागि उनी आवश्यक त्याग गर्ने मनस्थितिमा पुगेका निकट स्रोतको भनाइ छ । दाहाल ‘प्रचण्ड’ कै रुपमा रहीरहन मुख्य दुई काम गर्ने पर्ने बाध्यता छ । संविधान निर्माण पनि असफल हुने र पार्टी पनि कमजोर हुदै जाने अवस्थामा दाहाल राजनीतिक पृष्ठभूमिबाट ओझेलमा पर्दै जानेछन् ।

संविधान निर्माणका लागि सबैको जित हुने विकल्पको खोजीमा उनी छन् । त्यति गर्दा आत्मसमपर्ण गरेको आरोप लागे पनि उनी झेल्न तयार देखिएका छन् । संविधान निर्माणपछि अघि बढ्ने पार्टीको ‘रोडम्याप’ कोर्ने तयारी समेत उनले गरेका छन् । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको समकक्षी आफ्नो छवि धमिल्याउने कामलाई उनले संविधान निर्माण सम्पन्न गरेर जवाफ दिन खोजेका छन् । ‘संविधान निर्माणपछि मुलुकले एउटा कोर्स लिन्छ, त्यो काम पहिलो हो’ उनको बुझाइ छ, ‘त्यसकारण विन विन अवस्थाको विकल्पको खोजी भइरहेको छ ।’

माओवादीले सुरु गरेको संविधानसभाको एजेण्डा असफल हुदा पार्टी नेतृत्वको हैसियतले सबभन्दा नोक्सान दाहाललाई हुन्छ । ‘संविधानसभाबाट संविधान जारी गरी गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी अध्यक्षमाथि छ, त्यो चुनौतीको रुपमा देखिएको छ’ दाहाल निकट नेता अग्नि सापकोटाले भने, ‘यो चुनौतीको सामना गर्ने ताकत उहामाथि छ ।’

मधेशी र जनजातिलाई बिश्वासमा लिएर जतिसक्यो छिटो संविधान जारी गर्ने प्रयासमा दाहाल लागेका छन् । त्यसका लागि उनले दवावमूलकसभाको नेतृत्व गरेका छन् । संविधान निर्माण प्रक्रिया असफल हुदा बिगतका उपलब्धी धरापमा पर्ने भन्दै उनले बिगतमा आफूले गरेका कमजोरीको समीक्षामा लागेका छन् ।

आगामी ‘रोडम्याप’ कोर्नका लागि पार्टीलाई एकताबद्ध गर्ने उनको तयारी छ । खासगरी वरिष्ठ नेता बाबुराम भट्टराईलाई बिश्वासमा लिएर नयाँ ‘रोडम्याप’ को खाका कोर्ने तयारीमा लागेका छन् । अबको एक वर्षभित्र उनले भट्टराईलाई पार्टीमा सांगठनिक जिम्मेवारी दिएर वैचारिक नेतृत्व लिने मनिस्थतिमा पुगेका छन् । त्यसलेनै पार्टी एकता गर्ने उनको बुझाइ छ ।

‘पार्टी फुटबाट जोगाउनु अहिलेको सबभन्दा ठूलो आवश्यकता हो । माओवादी आन्दोलनलाई अझै कमजोर गराउने प्रयास हुदैछ । त्यसकारण केही त्याग गरेर नयाँ विचार निर्माणको दिशामा अघि जानुपर्छ’ दाहालले आन्तरिक छलफलमा भन्ने गरेका छन् ।

म्ााओवादी टुक्राटुक्रा भएको बेला दाहाल आफैले भट्टराईलाई संगठनको जिम्मा दिने तयारी गरेका छन् । एक वर्षभित्र गर्ने विशेष महाधिवेशनमा यसले औपचारिकता पाउने छ । दाहालले करिब दुई वर्ष अघि भएको हेटौडा महाविधेशनमा भट्टराईलाई पार्टी नेतृत्व लिने मनस्थिति बनाउन भनेका थिए । त्यसबेला भट्टराईले त्यो कुरा बिश्वास गरेनन् । दाहाल पक्षभित्रै त्यसको बिरोध भएपछि आफैले पार्टीको नेतृत्व लिए । गत बैशाखमा भएको राष्ट्रिय सम्मेलनमा दुई नेताबीच ठूलो अविश्वास भएपछि पार्टीभित्र झन् संकट थपिएको थियो ।

‘मैले पार्टीको नेतृत्व गरेको करिब २७ वर्ष पुग्यो, अबचाहि नेतृत्व हस्तान्तरण गरेर जानुपर्छ’ दाहालले आन्तरिक बैठकमा भन्दै आएका छन् । उनले आगामी नेतृत्व सम्भवतः भट्टराईलाई हस्तान्तरण गरी आफूले वैचारिक प्राधिकार लिन चाहेका छन् । ‘वैचारिक संश्लेषणपछि मात्र यो काम हुन्छ’ कोषाध्यक्ष हरिबोल गजुरेल भन्छन्, ‘यो पद भागबण्डा गरेजस्तो होइन ।’

प्ाार्टीभित्र र बाहिर राम्रो हुदा सबैले जस लिन खोज्ने र पराजय हुँदा सबै दोष दाहालको टाउकोमाथि थोपर्ने प्रवृत्तिबाट उनी हैरान छन् । यस्तो प्रवृत्तिलाई असफल पार्न उनले संविधान निर्माण र पार्टी बलियो गर्ने दुई काम गर्ने पर्ने हुन्छ । ‘आवश्यकताभन्दा बढी प्रशंसा र आवश्यकताभन्दा बढी आलोचना गर्ने अवसरवादी प्रवृत्ति हो’ सापकोटा भन्छन् । दाहालको निकट सल्लाहकारले खुशी पार्ने सल्लाह दिन्छन् । उनीहरुले कहिले आवश्यकता भन्दा कडा हुन उचाल्छन्, कहिले नरम हुन लगाउछन् । जसले गर्दा उनको भनाइ र गराइमा अस्थिरता देखिन्छ । ‘अध्यक्षबाट आफ्नो स्वार्थ पुरा गर्ने सल्लाहकार हावी छन्’ निकट एक नेताले भने, ‘दोस्रो तहका नेताले पनि संकटको बेला काध थाप्न हिच्किचाउँछन् ।’
कान्तिपुरबाट


  •  
  •  
  •