कुस्माबजारमा चौबिसैँ घण्टा गस्ती

219
  •  
  •  
  •  

पर्वत, १५ साउन : पर्वतको सदरमुकाम कुस्माबजारमा पछिल्लो समयमा चोरी तथा लागुऔषध प्रयोगका घटना बढेपछि प्रहरीले २४ सैँ घण्टा गस्ती बढाएको छ ।

चोरी तथा लागुऔषध र रक्सी सेवन गरी होहल्ला गर्ने घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्वतले कुस्मामा गस्ती बढाएपछि चोरीका घटनामा कमी आएका छन् भने लागुऔषध प्रयोगकर्ता धमाधम पक्राउ पर्न थालेका छन् ।
सो कार्यालयले साउनको पहिलो सातादेखि गस्तीका लागि मुख्य चोकमा एक–एकवटा टोली खटाएको छ भने एउटा गाडीले रातभर नै बजारमा गस्ती गर्दै आएको छ । “कुस्माका हरेक चोकमा प्रहरी खटिएको छ”, प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले भने, “कुस्मामा आपराधिक क्रियाकलाप रोक्नका लागि पनि गस्ती बढाउन आवश्यक भएको हो ।”
प्रहरीले २४ सँै घण्टा गस्ती गर्ने र मुख्य चोकमा ड्युटी खटाउन जनशक्ति अभाव भएपछि अञ्चल प्रहरी गुल्मबाट ३० जना थप प्रहरी झिकाएको बताइएको छ । प्रहरीले पछिल्लो समयमा १५ जनाभन्दा बढी लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिइसकेको छ ।


  •  
  •  
  •