विदेशमा नेपाली कामदारलाई घरदैलोमै राहदानी

148
  •  
  •  
  •  

काठमाडौं १९ पुस ।
रोजगारीको लागि विदेशमा हुनुहुन्छ र हस्त लिखित राहदानी छ भने अब चिन्ता गर्नुपर्दैन । किनकी सरकारले अब तपाईहरू भएकै ठाउमा आएर मेसिन रिडेवल पासपोर्ट (एमआपी) दिने प्रक्रिया अघि बढाएको छ । सरकारले घरदैलो कार्यक्रममार्फत् विभिन्न चार देशमा रहेका नेपाली कामदारलाई यस्तो सुविधा दिन लागेको हो ।

नोभेम्बर २४ देखि अन्तर्राष्ट्रिय रूपमै हस्तलिखित राहदानी स्विकार्य नहुने नियमका कारण आफ्ना नागरिकलाई अवैध हुनबाट रोक्न सरकारले यस्तो कदम चाल्न लागेको हो । कामदारमध्ये कतिपयलाई यसबारेमा जानकारीसमेत नभएर स्वत अबैध हुन सक्ने अवस्था रहेको छ ।

मलेसिया, साउदी-अरेबिया, कतार र युनाइटेड अबर इमिरेट्स (यूएई) मा यस्तो घरदैलो टोली पठाउने योजना राहदानी विभागले बनाएर मन्त्रालयलाई बुझाई सकेको छ । अब मन्त्रालयले अर्थको सहमतिमा त्यसलाई अनुमोदन गर्न बाँकी छ । बाहिर जाने भन्ने बित्तिकै आर्थिक दायित्व पर्ने भएकाले यसमा समस्या देखिएको हो । राहदानी विभागले तयार गरेर बुझाएको योजना सरकारले पारित गरेमा अर्को दुई सातामा राहदानी टोली ती मुलुक पुगिसक्ने परराष्ट्र मन्त्रालय उच्च अधिकारीको दाबी छ ।

अनलाइन प्रक्रियामा जान ढिलो हुने भएपछि मन्त्रालयले यस्तो उपाय रोजेको हो । नयाँ टेण्डर गरेर जाँदा पनि प्रविधी जडान तथा प्रशिक्षणमा समय लाग्ने हुनाले टोली खटाउन नै उपयुक्त हुने सुझाव विभागको रहेको छ । यो सँगै अहिले विभागले नयाँ टेण्डरको प्रक्रिया पनि अघि बढाउनेछ । ती मुलुकमा दूतावासबाट नै पनि कतिपय क्षेत्रमा गएर फाराम संकलन गर्ने कार्य भइरहेको भन्दै केही ब्यक्ति थप गर्नुपर्ने सुझाव दूताबासले दिएका छन् ।

दुई साताअघि नै अघि बढाएको उक्त प्रस्ताव अर्थमन्त्रालयबाट सहमति नआइसकेकाले प्रक्रिया अघि बढाउन बाकी रहेको स्रोतले उल्लेख गरे । समय घर्किदै गएको उल्लेख गर्दै ती अधिकारीले भने, ‘कि प्रत्यक्ष फारम भर्ने प्रविधीमा जानुपर्‍यो कि त घरदैलो कार्यक्रम । अर्को विकल्प छैन ।’ अन्य मुलुकहरुमा खास समस्या नभएकोले चार मुलुकलाई नै विभागले प्राथमिकतामा राखेको हो । ति मुलुकहरुको कतिपय दूतावासमा काजमा केही कर्मचारी पठाउने क्रम जारी छ । जसले गर्दा केही हदसम्म सहयोग पुगेको दूतावासले पठाउने प्रतिवेदनमा उल्लेख छ ।

कतार, मलेसिया, साउदी अरब र युएई आफ्नो नजरमा रहेको राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले बताए । उनले भने, ‘विभागले नोभेम्वर २४ को लक्ष्य राखेर उक्त समयभित्र सबै हस्तलिखित राहदानी विस्थापित गर्न ब्यापक प्रचारको साथै ति मुलुकको विभिन्न स्थानहरुमा नै गएर फारम संकलन गर्न लागेका हौ । यसको विकल्प अहिले देखिएको छैन् ।’ कुन स्थानमा कति नेपाली छन भन्नेसमेत यकिन नभएकोले रोजगार दाता कम्पनीमा नै पुगेर वा त्यस आसपासको क्षेत्रमा गएर राहदानीको फारम भराउनुपर्ने सुझाव विभागको रहेको उनले बताए ।

यसमा सबैको चिन्ता रहेकाले छिट्टै काम हुने उनको बुझाई छ । उनले दूतावास, गैरआवसिय नेपाली संघको सम्लग्नतामा यस्तो कार्य विभागले गर्नेछ । विभागबाट एक मुलुकमा तीन वा चार जना जाने र त्यहाँ दूतावासबाट पनि एक दुई जना लिएर स्थलगत नै गएर फारम भर्ने र काठमाडौं पठाउने तयारी रहेको सुनाए ।

एनआरएनले पनि यसमा चासो देखाउनुपर्ने धारणा मन्त्रालयको छ । नेपालमा यो गर्छु उ गर्छु भनेर गफ गर्ने एनआरएनले यस्तो गम्भिर विषयमा त्यती चासो नदेखाएको स्रोतले उल्लेख गरेको छ । सहयोगका लागि औपचारिक रुपमा नै एनआरएनलाई आग्रह गरिएको जानकारी एक अधिाकरीले दिए ।

दूतावास पुगेर राहदानीको लागि फाराम भर्नेको लाइन अहिले राहदानी विभागमा देखीने जस्तै छ । मलेसियामा दैनिक सात देखि १५ सय सम्म नेपाली राहदानी र अन्य कामको लागि दुतावास आउने गर्छन भने साउदी अरब, कतार र युएइृमा पनि त्यस्तै हालत रहेको छ । त्यहाबाट आउने फारम समेत त्रुटिपूर्ण आउने गरेको छ । यसमा समेत सुधार गर्न आवश्यक छ । विभागका अधिकारीहरुले यी चार मुलुकमा धेरै नै समस्या रहेको बताए । सन २०१० को अन्त्यमा नेपालले एमआरपी लागू गरेयता १६ लाख भन्दा बढि राहदानी जारी भइसके पनि अझै १६ लाख बढि राहदानी नोभेम्वर २४ भित्र जारी गरि सक्नुपर्ने चुनौति रहेकेा छ । दैनिक ५ हजार भन्दा बढि उत्पादन गर्ने गरि काम गर्दा त्यती राहदानी विस्थापित गर्न सक्ने क्षमता विभागको छ । राहदानीको फारम विग्रेमा एसएमएस बाट जानकारी दिने, बनेको राहदानीको सूचना अनलाइनमा राखिदिने जस्ता सुधार समेत भइरहेको विभागका अधिकारीले बताएका छन् ।
कान्तिपुरबाट


  •  
  •  
  •