फेसबुकमा छाए पारस

93
  •  
  •  
  •  

काठमाडौं २४ भदौ । ‘एक महिनापछि नेपाल आउँछु’थाइल्यान्डमा बस्दै आएका पूर्वयुवराज पारस पछिल्ला केही दिनमा फेसबुकमा निकै समय बिताउन थालेका छन् । स्टाटस अपडेट गर्ने, फोटो–भिडियो अपलोड गर्ने मात्र नभएर कमेन्टहरूको जवाफ दिनसमेत पछि परेका छैनन् । शनिबार एकै दिन उनले २७ वटा पोस्ट गरेका थिए ।
पारस शाहको नाममा रहेको उनको एकाउन्टमा झन्डै चार हजार साथीहरू छन् । थुप्रैले कमेन्टमा उनलाई सरकार भनेर सम्बोधन गरेको देखिन्छ । प्राय: कमेन्टहरूमा पारसलाई नेपाल आउन र देश सेवामा लाग्न आग्रह गरिएको छ । कमेन्टको जवाफ दिँदै पारसले अर्को महिना नेपाल आउने उल्लेख गरेका छन् ।
पारसको वालमा शिशिर तिवारी लेख्छन्, ‘सरकार मेरो अन्तिम श्वास रहुन्जेल मौसुफको सेवक बनी हरदम साथमा रहनेछु । स्वयम्लाई एक्लो नसम्झिबक्सियोस् । नेपाली जनता राजपरिवारको साथमा छन् ।’
रोशन बास्तोलाले लेखेका छन्, ‘मानिस जन्मले भन्दा आफ्नो कर्मले परिणाम भोग्छ । जीवन सत्मार्गमा अघि बढाएमा मात्र सार्थक हुन्छ । आफूले बिराएको छैन भने डराउनुपर्दैन । तर, आफ्नो चाकरी गर्नेहरूको घेराबाट माथि उठेर रचनात्मक मार्गदर्शन गर्ने आफ्नो परिवार, अभिभावक र निर्धक्क स्वार्थरहित सल्लाह दिने शुभचिन्तकलाई पहिचान गरी जीवनलाई ऊर्जा दिन सकेमात्र जीवनको सौन्दर्य प्राप्त हुन्छ । देशविदेशका शूरा र सुन्दरीभन्दा पुर्खाको विरासतलाई आत्मसात् गरी नेपाल र नेपालीको श्रीप्राप्तिमा बाँकी जीवन सार्थक हुन सकोस् ।’
पारसले गल्फ खेलिरहेका थुप्रै तस्बिर अपलोड गरेका छन् । दुब्ला भए पनि उनी ह्याट र कालो चस्मामा कुल देखिन्छन् । यस्तै २०० किलोमिटरको रफ्तारमा गाडी हाँकेको भिडियो पोस्ट गर्दै उनले लेखेका छन्, ‘दुईपटक हर्टअट्याक भएपछि रफ्तार घटाएको हुँ । नत्र तीन सय किलोमिटरभन्दा माथि हुन्थ्यो ।’
एउटा तस्बिरमा पारसले आफ्नो ढाडमा रहेको ट्याटु प्रदर्शन गरेका छन्, जसमा क्रस खुकुरी अंकित गरिएको छ । उक्त फोटोलाई क्याप्सन दिएका छन्, ‘यो मन त मेरो नेपाली हो ।’
पारसले आफ्नो प्रोफाइलमा भगवान् शिवको आकृति राखेका छन् । सबैभन्दा पछिल्लो पोस्टमा उनले सुरतको एक्का र सुरतको गुलामको तासको फोटो राख्दै लेखेका छन्, ‘म त यस्तो भएँ ।’नयाँपत्रिकाबाट


  •  
  •  
  •