पारसलाई निर्मल निवासको उपेक्षा

27
  •  
  •  
  •  

काठमाडौं २६ असोज ।
गाँजासहित थाइल्यान्डमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई छुटाउन वा स्वदेश फर्काउन निर्मलनिवासले कुनै पहल नगर्ने भएको छ । पूर्वराजपरिवारले पारसको अवस्थाबारे औपचारिक रूपमा सोधिखोजी पनि गरेको छैन ।

निर्मलनिवासनिकट स्रोतका अनुसार छोरो पक्राउको घटनाले पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल चिन्तित बनेका छन् । तर, उनलाई रिहा गराउनेबारे कसैसित छलफल गरेका छैनन् । थाइल्यान्डस्थित नेपाली दूतावाससित पनि निर्मलनिवासका तर्फबाट सम्पर्क नभएको स्रोतले जनाएको छ ।

पारसलाई बुधबार थाई प्रहरीले गाँजासहित पक्राउ गरेको थियो । यसअघि पनि गाँजा सेवन र सार्वजनिक स्थलमा तोडफोड गरेको आरोपमा पारस पक्राउ परेका थिए ।

बैंककमा रहेका नेपालीले पारस पक्राउ परेको जानकारी निर्मलनिवासलाई गराएका थिए । पूर्वअधिराजकुमार धीरेन्द्रका छोरीहरू पारसलाई भेट्न बैंकक जाने सम्भावना रहेको स्रोत बताउँछ, तर पक्का भइसकेको छैन ।

पारसका साथी राजेश सिंह भने सोमबारसम्ममा बैंकक जाने भएका छन् । उनी यसअघि पनि पटक–पटक पारसलाई भेट्न गइरहन्थे । पारस काठमाडौंमै हुँदा पनि उनी सहयोगी थिए ।

हृदयाघातको उपचार गराएपछि पारसलाई पूर्वराजपरिवार नेपाल ल्याउन चाहन्थ्यो । तर, पारसले प्रेमिकालाई पनि सँगै ल्याउने बताएपछि परिवार पछि हटेको थियो । बरु, बैंककमा बस्न लाग्ने खर्च परिवारले उतै पठाइदिने गरेको थियो ।

स्रोतका अनुसार पारसकी प्रेमिका पनि गाँजाको अम्मली थिइन् । बैंककमा बस्दा पारसले नै प्रेमिकाको खर्च व्यहोर्ने गरेका थिए । केही समययता भने पारस प्रेमिकाकै गाउँ चेनमाईमा बस्न थालेका थिए । बुधबार पारस पक्राउ परेपछि उनकी प्रेमिका फरार भएकी छिन् ।

राजावादीहरु निराश
गाँजा सेवनको अभियोगमा बैंककमा पारस पक्राउ परेपछि राजावादीहरू निराश भएका छन् । फोटोमा गँजडीजस्तै पारसको रूप देखेपछि उनीहरू खिन्न पनि बनेका छन् । ‘हामीले राजा–राजा भन्यौँ, राजतन्त्र फर्काउन संघर्ष पनि गर्‍यौँ, तर जसका लागि यति गर्‍यौँ उनको नै हालत त्यस्तो रहेछ,’ राप्रपा नेपालका एक केन्द्रीय सदस्यले भने ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •