विकासको अवाज उठाउँदा दुश्मन जस्तो भयौं : पारस खड्का

175
  •  
  •  
  •  

काठमाडौं, २६ माघ (ओएनएस) :  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले खेलाडी तथा क्रिकेट विकासमा नेपाली क्रिकेट संघ (क्यान) का पदाधिकारीको जिम्मेवारी र क्षमतामाथि प्रश्न उठाएका छन् । पारसले खेलाडी तथा क्रिकेटको विकासको कुरा गर्दा आफुहरु क्यान र खेलकुद परिषद्को दुस्मन जस्तो भएको पनि बताएका छन् ।

व्यवस्थापिका संसदअन्तर्गत विकास समितिमा सोमबार भएको छलफलमा भाग लिदै खड्काले विकासको कुरा गर्दा आफु दुस्मन जस्तो भैसकेको बताउँदै भने, ‘हामी खेलाडीहरुलाई माथिल्लो देखि तल्लो तहका पदाधिकारीले आफ्नो जिम्मेवारी पुरा गरेको छैन जस्तो लाग्छ । अवाज उठाउदा दुस्मन जस्तो भइसक्यौ । ’

खड्काले  क्रिकेटको पूर्वाधारको विकास गर्नु पर्छ भन्ने अवाज निकाल्दा आफुलाई नेतागिरी गरेको भन्ने आरोप लगाएको पनि बताए । खड्काले भने ‘मन्त्रालयदेखि, खेलकुद परिषद्, क्यानका सबैले ‘यीनीहरुले कसरी आवाज निकाली रहेका छन्’ भन्ने सोच्छन् । मलाई कहिले माओवादी, कहिले काँगे्रस, कहिले एमाले भन्ने आरोपहरु आइरहेको छ । तर मेरो अवाज सम्पूर्ण खेलाडीहरुको हो । हाम्रो चासो  क्रिकेटको विकास होस् भन्ने हो ।’

उनले राष्ट्रपति, प्रधानमन्त्रीसँग भेट्दा क्रिकेटको विकासको कुरा गर्ने बताएपनि कार्यान्वयन नभएको गुनासो गरे । उनले अघि भने, ‘राष्ट्रपति, प्रधानमन्त्री देखि लिएर बिभिन्न मन्त्रीज्यू, पूर्वप्रधानमन्त्री सबैसँग भेटेर कुरा गर्दा अब केहि गर्नु पर्छ भन्नु हुन्छ । अनी आईसीसी, एसिसी, क्यानको पदाधिकारीसँग बैठक हुन्छ । तर कार्यान्वयनमा हामी अहिले पनि जीरो मै छौ । ’

उनले देशमा क्रिकेटको चासो बढेको बताउँदै सबैले क्रिकेटले केहि गर्न सक्छ भन्नु सकारात्मक भएको बताउँदै पूर्वाधारको विकास नभई अघि बढ्न नसकिने बताए ।

‘ कुरा जिम्मेवारीकै आउछ । हामी खेलाडीहरुलाई माथिल्लो देखि तल्लो तहका पदाधिकारीले आफ्नो जिम्मेवारी पुरा गरेको छैन जस्तो लाग्छ ।’ खड्काले भने, ‘ इतिहास हेर्नुहुन्छ भने खेलाडी र व्यवस्थापनबीच समन्वय छैन । पहिला घर परिवार चलेको जसरी क्रिकेट चलेको थियो । अहिले पनि त्यस्तै छ । घर परिवार चालेको तरीकाले त राष्ट्रको चासो रहेको क्रिकेट चल्दैन । ’

उनले क्रिकेट विकास गर्न जिम्मेवारी र क्षमता हुन पर्ने बताउँदै क्यानका पदाधिकारीसँग त्यो नभएको आरोप समेत लगाए । ‘ यहाँ  गाडी पनि चलाउन नआउने म प्लेन हाँक्छु भन्छन् । सोच ठुलो छ तर काम गर्ने क्षमता चै कोहिसँग  छैन । अहिले सबैले क्रिकेट बुझ्न थालेका छन् तर टेक्निकल व्यवस्थापन छैन । ’

उनले विकास समिति, मन्त्रालय र खेलकुद परिषद्ले निर्देशन दिने बताउँदै  काम गर्ने क्यानले भएको बताए ।

‘क्यान ठीक छैन भन्नु हामीले आफैले आफैलाई गालि गरेको स्थिति हो । सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्याे । ’ खड्काले भने, ‘सरकारले पैसा दिएको छ । तर मैले एक प्रतिशत पनि काम भएको देखेको छैन । टियूको मैदान १५ वर्षअघि हरियो थियो अहिले खेत जस्तो भैसक्यो । मूलपानी बन्नेमा हामी खेलाडीले आस नै मारि सक्यौ । ’

उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय सपोर्ट पाएको नेपाली क्रिकेट टिम राम्रो स्थितिमा भएकाले क्यानले राम्रो व्यवस्थापन गर्न जरुरी रहेको बताए । खड्काले भने, ‘अन्तर्राष्ट्रिय स्तरको ढोका खुलेको छ । हाम्रा समर्थक छन् , एसीसी, आईसीसीको सपोर्ट छ । देशमा  कर्पाेरेट हाउसहरु क्रिकेटमा लगानी गर्न चाहान्छन् । तर लगानी कसरी गर्ने त ? राम्रो व्यवस्थापन नगरी लगानी गर्न त मिल्दैन ? यसको व्यवस्थापन गर्ने भनेको क्यानले हो । क्यानमा को हुन पर्ने को नहुन पर्ने भन्दा पनि भएकै मान्छेहरुले जिम्मेवारी लिएर अघि बढ्ने हो भने धेरै कुरा गर्न सकिन्छ । ’

उनले तत्काल टियू मैदान बनाउन पनि माग गर्दे भने , ‘अहिले तत्काल चाहिने कुरा टीयू मैदान बनाउन पर्याे । ४–५ करोड खर्च गर्ने हो भने तीन महिनमा अन्तर्राष्ट्रिय स्तरको ग्राउण्ड बन्न सक्छ । त्यहा पनि क्यानले व्यवस्थापन गर्न सकेको छैन, भाडा तिरेको छैन , हामीलाई प्रशिक्षण गर्नुपर्छ भनेर मात्र ताला खोलेको स्थिति छ । कुरा जिम्मेवारी कै हो, अब काम गर्ने समय अवधि दिनु पर्याे । गाउन्ड बनाउन ३ महिनाको समय दिएको छ भने तीन महिनापछि सोधपुछ गर्नु पर्याे ।’

छलफलमा खेलकुद मन्त्री पुरुषोत्तम पोडैल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले भाग लिदै क्यान नेतृत्वले काम गर्न नसकेको भन्दै आक्रोस पोखेका थिए । सन् २०१४ को मध्यतीर नेपालले डिभिजन–१ का खेलहरु संचालन गर्न पर्नु भएकाले विकास समितिमा पूर्वाधारको विषयमा छलफल भएको हो ।

छलफलमा सरोकारवालाको कुरा सुनेपछि अर्थ मन्त्रालयका मुकुन्द अर्यालले खेलकुद मन्त्रालयले कार्ययोजना ल्याए क्रिकेट मैदान बनाउन तत्काल ५ करोडसम्म दिन सकिने बताए । छलफलपछि विकास समितिले अन्तर्राष्ट्रिय खेल संचालनको लागि मैदान बनाउन अर्थ तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।


  •  
  •  
  •