जब पारसले वनकालीमा दालभात खाए

151
  •  
  •  
  •  

काठमाडौं १७ पुस ।
लामो समयपछि पूर्वयुवराज पारस शाह पशुपतिनाथ मन्दिरस्थित वनकाली चौरमा देखा परे । छोरी पूर्णिका, बहिनी दिलासा र ज्वाइँ आदर्श पनि सँगै थिए । खैरो सर्ट र कालो पाइन्टमाथि सेतो ज्याकेट लगाएका पारस सामान्य देखिन्थे । कारबाट झर्नेबित्तिकै प्रशंसकबाट जयजयकारको नारा लाग्यो । हात जोडे । नमस्कार गरे । हल्का मुस्काए ।

रुद्राक्ष र फूलको माला पहिरिँदै चौरमा सजाइएको भव्य स्टेजमा उक्लिए । सँगै छोरी पूर्णिका, बहिनी दिलासा र ज्वाइँ आदर्श पनि स्टेजमा उक्लिए । पारससँगै सबै सोफामा बसे । राहुलेस्वर फाउन्डेसन र शिव सेना नेपालले बिहीबार संयुक्त रूपमा ‘नाकाबन्दीपीडितका लागि नि:शुल्क भोजनशाला’को व्यवस्था मिलाएको थियो । सोही कार्यक्रम उद्घाटन गर्न परिवारसहित पूर्वयुवराज पारस वनकाली पुगेका थिए । सयौँ प्रशंसकले पारसको पक्षमा हुटिङ गरिरहेका थिए ।

उनी भने हात समाउँदै छोरी पूर्णिकालाई नमस्कार गर्ने तरिका सिकाउँदै थिए । पूर्णिका भने लजाउँदै मुस्काइरहेकी थिइन् । प्लास्टिकको सेतो कपमा ब्ल्याक टी ‘ट्रे’ बोक्दै आयोजक स्टेजमा उक्लियो । ट्रे पारसतर्फ लम्काउँदै चिया लिन संकेत गरे । पारस हल्का मुस्काए । ट्रेबाट ब्ल्याक टी लिए, चिया टेबलमा राखे । छोरी पूर्णिकालाई पनि चिया लिन सुझाए । बहिनी दिलासा र ज्वाइँ आदर्शले चिया लिए–नलिएको नियाले । टेबलबाट कप टिपेर पारसले ब्ल्याक टी ‘सुरुप्प’ पारे । पानसमा ठिक्क पारिएको बत्ती बाल्न आग्रह गरियो । पारस स्टेजबाट उठे ।

नाकाबन्दीपीडितका लागि नि:शुल्क भोजनको उद्घाटन गरे । उनी पुन: स्टेजमै फर्किए । विशिष्ट पाहुनाका लागि भोजन गर्ने छुट्टै टेन्टको व्यवस्था थियो । पारसलाई सोही टेन्टतर्फ जान भनियो । उनी उठे । उनीसँगै छोरी पूर्णिका र बहिनी–ज्वाइँ पनि उठे । आयोजकसँगै टेन्टतर्फ लागे । प्लास्टिकको खण्डेथालमा दाल, भात र तकारी तयार थियो । आयोजकले खण्डेथाल अघि बढाउँदै पारसलाई दाल, भात र तरकारी लिन आग्रह गरे । विनासंकोच उनले थाल समाते ।

आवश्यक दाल, भात र तरकारी लिए । टेबुल पुगे । थाल बिसाए । छोरी पूर्णिकातर्फ हेरे । उनलाई पनि दाल, भात र तरकारी लिन संकेत गरे । छोरीले पनि त्यसै गरिन् । पारस बाबु–छोरी प्लास्टिककै टेबलमा बसे । चम्चाले दालभात र तरकारी स्वाद मानेर खाए । सबै क्रियाकलाप नियालिरहेका उनका प्रशंसक भावविभोर बने । हात जोड्दै भन्न थाले, ‘सरकार नेपाली जनताले दु:ख पाए, अब राजतन्त्र फर्काइबक्सियोस् ।’ जवाफमा उनी हाँसिमात्रै रहे । केही बोलेनन् । करिब एक घन्टाको बसाइपछि उनीसहित सपरिवार कार्यक्रमस्थलबाट बिदा भए । –
नयाँपत्रिकाबाट


  •  
  •  
  •