किन पुग्याे निवर्तमान प्रधानन्यायाधीश पराजुली विरुद्ध प्रहरीमा जाहेरी

382
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (अाेएनएस) : महानगरीय प्रहरी परिसर काठमाडौंमा निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध जाहेरी पुगेकाे छ।
पराजुलीले नागरिकता तथा शैक्षिक प्रमाणपत्र सम्बन्धी किर्ते अपराध गरेको उल्लेख गर्दै उनी विरुद्ध प्रहरीमा गुल्मी इस्पा गाउँपालिकाका मदन भण्डारीले जाहेरी लिएर पुगेका हुन्।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले भने,”जाहेरी आएको छ, हामीमाथिल्लाे निकायमा बुझ्ने प्रक्रियामा छौं,त्यसपछि मात्रै दर्ता गर्ने/नगर्ने निर्णय गर्नेछौं।’
प्रधानन्यायाधीशको कार्यकाल अनुचित रुपमा लम्ब्याउने चाहनाले पराजुलीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक-फरक जन्ममिति बनाएको जाहेरीमा उल्लेख गरिएकाे छ।
जाहेरीमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट पराजुलीले लिएको नागरिकतामा जन्ममिति २००९ साउन २१ गते देखिएको तर काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएको प्रतिलिपिमा २०१० साल बैशाख १६ गते कायम गरिएको भनिएको छ। यस्तै, एसएलसीको प्रमाणपत्रमा जन्ममिति २०११ बैशाख १३ गते उल्लेख छ भने नेपाल ल क्याम्पसमा प्रमाण पत्रहरुमा २०१० बैशाख १३ गते रहेको उल्लेख गरिएको छ।
उमेरकै विवादमा न्याय परिषद् सचिवालयले जन्ममितिका आधारमा गत साउन २१ गते नै पराजुलीको कार्यकाल सकिएको भन्दै गत फागुन ३० गते उनलाई अवकाशपत्र पठाएको थियो। त्यसको भोलिपल्ट पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएका थिए।


  •  
  •  
  •